Sajhamanch Archive

भारतबाट बिर्तामोड ल्याइएको मरेका माछा नष्ट

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । विर्तामोड नगरपालिकाले भारतबाट आयात गरिएको मरेका माछा नष्ट गरिएको छ । मंगलवार विहान बिर्तामोडस्थित अञ्जलि हस्पिटल नजिकैबाट माछासहित पिकअप नियन्त्रणमा लिई माछा नष्ट गरेको हो । नियन्त्रणमा लिइएको माछा आवश्यक प्रक्रिया पुरा गरेर नष्ट गरिएको विर्तामोड नगरपालिकाले जनाएको छ ।

बिर्तामोड नगर प्रहरीले मरेका माछासहितको प्रदेश –१–०१–००१ च ७४०८ को पिकप भेन र चालक गौरादह १ का अमृत दाहाललाई पनि नियन्त्रणमा लिएको थियो । गौरीगञ्ज क्षेत्रबाट भन्सार छलेर भित्राइएको माछा प्रहरीकै सहयोगमा बिर्तामोडसम्म ल्याउने गरेको बुझिएको छ ।

भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाएको बिर्तामोड नगरपालिकाले उक्त माछा मेची आँखा अस्पताल नजिकै खाल्डोमा पुरेको छ । २ हजार १६ केजी (४८ कार्टुन) माछा बरफमा राखेर ल्याइएको थियो । दिनभर गाडिमा राखिएको माछा गाड्ने समयसम्म सिनो झै गन्हाएको थियो । सस्तो मुल्यको लोभमा बिर्तामोडका धेरै व्यापारीले भारतीय माछा आयात गर्ने गरेका छन् । नियन्त्रण्मा लिएको माछा बिर्तामोडका व्यापारीले संयुक्त रुपमा भित्राएका हुन् । साढे ३ लाख मुल्यको माछा यहाँ तेब्बर मुल्यमा विक्रि गरिन्छ ।

भारतबाट आयातित मरेका माछाको विक्रि वितरणमा स्थानीय तहले समेत रोक लगाएका छन् । कार्तिक १ गते बाट पूर्ण रुपमा भारतबाट आयात हुने मरेका माछा विक्रि गर्न नपाइने बिर्तामोडका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिए ।

बिर्तामोडमा मरेका माछा प्रतिवन्ध लगाएसँगै व्यापारीले कृषिथोक बजार बाहिर नै माछाको गोदाम तयार गरेका छन् । गोदाम राखेको क्षेत्रमा समेत गन्हाएर स्थानीयबासीलाई दुर्गन्ध भइरहेको बताइएको छ । गोदाम मै माछा अनलोड गर्ने क्रममा नगर प्रहरीले माछा नियन्त्रणमा लिएको थियो । माछा नियन्त्रणमा लिएको थाहा पाएपछि जिल्लाभरका माछा पालक किसान भेला भएका थिए ।

दशैंका लागि ल्याइएको अस्वस्थ्यकर माछा नष्ट गरेकोमा बिर्तामोड नगर प्रहरीलाई सबैले धन्यवाद समेत दिएका छन् । माछा व्यापारी, किसान, बिर्तामोड वाणिज्य संघ, मत्स्य व्यवसायी कृषक महासंघ, नगर प्रहरीको रोहवरमा माछा नष्ट गरिएको हो ।

बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले व्यापारभन्दा पनि उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्न आग्रह गरेका छन् । उनले स्वास्थ्यसँग जोडिएको व्यापार व्यवसायमा संवेदनसिल हुनुपर्ने बताए । राज्यको नियम बमोजिम व्यापार व्यवसाय गर्नुपर्ने उनको भनाई छ ।

यस्तै, माछा पालक किसान मोहन शिवाकोटीले बिर्तामोड नगरपालिकाले मरेका माछा आयातमा प्रतिवन्ध लगाएपछि किसान खुशी भएको सुनाए । उनले अवैध रुपमा आयात गरेको माछा नष्ट गर्न नगरले देखाएको सक्रियता सकारात्मक भएको प्रतिनिक्रिया दिए । उनले भारतबाट आयात हुने मरेका माछा, भन्साल छलेर ल्याइएका माछाका कारण स्थानीय किसान मारमा परेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *