Sajhamanch Archive

मेचीनगरमा बजार अनुगमन, गुणस्तरहिन अखाद्य वस्तु नियन्त्रणमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

मेचीनगर । मेचीनगर नगरपालिकाको बजार अनुगमन टोलीले नगरमा विभिन्न व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुलाई अखाद्य वस्तु, म्याद गुज्रेका, सडेगलेका खाद्यवस्तु विक्री वितरण नगर्न आग्रह गरेको छ ।

चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएका हुँदा उपभोक्ताले स्वस्थ र स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउन् भनेर नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको जनाइएको छ ।

चाडपर्वको बहानामा व्यावसायीले कृतिम अभाव सिर्जना गरी मूल्य वृद्धिलगायत अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न केही साता अघिदेखि बजार अनुगमनमा निस्केको टोलीले सोमबार मेचीनगरको वडा नं. ९ र १० स्थित धुलाबारी बजारको अनुगमन गरेको हो ।

नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीको नेतृत्वमा निस्केको अनुगमन टोलीले किराना पसल, कोल्ड स्टोरलगायतका १० वटा पसलको अनुगमन गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिएका छन् ।

सरकारले आयतमा प्रतिबन्ध लगाएका भारतीय गुणस्तरहिन अखाद्य वस्तु तथा म्याद गुज्रिएका खाद्यवस्तुहरु अनुगमन टोलीले नियन्त्रणमा पनि लिएको छ ।

पेय पदार्थ, दाल, चकलेट, मसला नेपालमा प्रतिवन्धित ड्राइगन, दो फूललगायत नामै नसुनेका भारतीय आयल कम्पनीद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका खाद्य वस्तु टोलीले नियन्त्रणमा लिएको टोली प्रमुख कार्कीले बताए ।

ती सबै वस्तु विभिन्न प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिने नगरपालिकाले जनाएको छ ।

‘अनुगमनका क्रममा गैरकानूनी काम गर्ने व्यावसायीलाई हामीले सच्चिने मौका दिएका छौं’ टोली प्रमुख कार्कीले भने ‘अनुगमनका क्रममा नगरपालिकाको सूचना अवज्ञा गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरे कानून बमोजिम कारवाही तथा ती सामग्री जफत गर्ने, नष्ट गर्ने तथा दण्ड जरिवाना गरिने छ ।’

अनुगमन टोलीमा खाद्य विश्लेषक कार्की, झापा जिल्ला उपभोक्ता मञ्चका सन्तोष नेउपाने, मेची उद्योग वाणिज्य संघ मेचीनगरका नरबहादुर पौडेल, पशुसेवा केन्द्रका दिवाकान्त चौधरी, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी सहायक निरीक्षक दीपककुमार कडेललगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *