सबै धर्म, भाषा भाषीको साझा पार्टी हो एमालेः देवराज घिमिरे
Published:
by .झापा । नेकपा एमालेले सबै धर्मलाई समान रुपमा हेर्ने झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बताउनु भएको छ ।
शनिबार बिर्तामोड ४ मा रहेको नमो बौद्व गुम्बा र सोहि वडामा रहेको बिलिभर्स चर्चमा आयोजित चुनावी सम्बोधन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहनुभएका घिमिरेले बिकास निर्माण र सहयोग गर्ने कुरामा आफ्नो पार्टीले कुनै भेदभाव नगर्ने बताउनु भएको हो ।
मठ, मन्दिर, गुम्बा, चर्च लगायतको निर्माणमा स्थानिय सरकारले नै काम गर्न सक्ने बताउँदै उहाँले त्यसका लागि मेयर, उपमेयरलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, यो सामान्य कुरा हो, अहिले बिर्तामोड, कनकाइ, अर्जुनधारा नगरपालिकामा एमालेको बहुमत रहेकोले यी र यस्ता बिकास निर्माणका काम गर्न सकैले रोक्न सक्दैन ।
घिमिरेले स्थानिय सरकारको पहुँचभन्दा माथिका बिकास निर्माणका काम गर्नुपर्ने भए प्रदेश सरकार मार्फत गराउन सकिने र त्यस भन्दा अझ माथिको बजेट आवश्यक परे केन्द्रिय सरकारले गर्ने बताउनुभयो । तर, त्यसका लागि प्रदेश र केन्द्रमा नै एमालेका सुर्य ध्वजावहाक उम्मेदवारलाई जिताउन आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, आफ्नो ठाउँको बिकास गर्नुपर्छ भन्ने पार्टी एमाले मात्रै हो, अरु पार्टीले जिते एमालेले सुरु गरेका बिकासका काम समेत रोकिन्छन् । त्यसकारण अबको निर्वाचनमा एमालेकै उम्मेदवारले जित्नु पर्छ ।
कार्यक्रममा झापा क्षेत्र नम्बर २ प्रदेश सभा १ का उम्मेदवार एकराज कार्कीले सबै भाषा भाषी र धर्मालम्बीको साझा पार्टीको रुपमा एमाले रहेको बताउनुभयो । सोहि क्षत्रका पूर्व सांसद समेत रहनुभएका कार्कीले यस अघि पनि आफुले मठ मन्दिर, मस्जिद, गुम्बा र चर्चको लागि बजेट छुट्याएर काम गरेको बताउनुभयो । उहाँले अब पनि ती र त्यस्ता कामले निरन्तरता पाउने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । झापामा राप्रपा र एमाले बिच चुनावी तालमेल रहेको छ ।
Comments