Sajhamanch Archive

समृद्धिको अभियानलाई सफल बनाउन गरेको योगदान नै एमालेको जित्ने आधार : नेता मिश्र

Published: (Updated: ) in अन्तर्वार्ता, राजनीति, लोकप्रिय, समाज by .

कनकाई । नेकपा एमाले झापा क्षेत्र नं. ४ का संयोजक तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. ४ का सचिव खेमनाथ मिश्रले मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं. ४ मा प्रगतिशील र राष्ट्रवादी उम्मेद्वारहरुको विजयी हुने बताएका छन् । राष्ट्रिय पर्वकै रुपमा लिइने यो निर्वाचनलाई सफल बनाउन आफूहरु लागि परेको बताउँदै उनले नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. ४ का उम्मेदवार एलपी सावाँ र प्रदेश सभामा ४ (१) का राधाकृष्ण खनाल तथा ४(२) का भक्तिप्रसाद सिटौलालाई जिताउन जनताहरु उत्साहित रहेको दावी गरे ।

आफूहरु निरन्तर रुपमा चुनावी घरदैलो अभियानमा हिंड्दा मतदाताबाट विभिन्न सुझावहरु आएको, स्थानीय समस्याको बारेमा जानकारी गराएको र देशलाई समृद्ध बनाउने परिकल्पना गरी केपी ओली सरकारले सुरु गरेका अधुरा काम पूरा गर्न पनि यसपटक एमाले र यससँग तालमेल गरेका उम्मेदवारलाई जिताउने मतदाताको इच्छा रहेको उनले जानकारी दिए ।

यस क्षेत्रमा अघिल्लो पटक पनि जनताले एल पी साँवालाई जिताएर पठाएका थिए । ५ वर्षे कार्यकालमा उहाँले यस क्षेत्रमा विकास निर्माणका महत्वपूर्ण काम गर्नुभएको छ मिश्रले भनेका छन्, “म दावाका साथ भन्छु यस क्षेत्रमा ५०औं वर्षमा नभएका कामहरु ७४ सालदेखि ७९ सालसम्म भएका छन् ।’

यो अवधिमा सम्पन्न कामको फेहरिस्त सुनाउँदै उनले भने, ‘२९ किलोमिटर हुलाकी राजमार्गको काम सम्पन्न भएको, सताक्षीधाम, झिलझिले–जनता हुँदै होक्लाबारी जोड्ने २७ किमी बाटो कालोपत्रे सम्पन्न हुने क्रममा रहेको, सुरुङ्गा–शरणामती–कामाटोली हुँदै झापा बजारबाट भारत जोड्ने २४ किमी सडक निर्माणाधिन अवस्थामा रहेकोे, सुरुङ्गा–दिगलबैंक बैकल्पिक सडक र धेरै पूल निर्माण भइरहेको छ । यस्ता धेरै काम यस कार्यकालमा भएका छन् । यसको अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी, लगायतको क्षेत्रमा भएको विकासले गर्दा जनता यसपटक पनि एमाले र एमालेसँग तालमेल गरेका उम्मेदवारहरुको जित निश्चित छ ।”

यसको अतिरिक्त नेकपा एमाले पार्टीले अघि सारेका समृद्धिको अभियानलाई सफल बनाउन गरेको योगदान, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सावाँले गरेको काम, जनताका हरेक सुख दुःखमा साथ दिएका कारण फेरि पनि यस क्षेत्रको सांसदको रुपमा जिताउन मतदाताहरु उत्साहित रहेको एमाले नेता मिश्रको दावी छ ।

नीति र नेतृत्वको माध्यमबाट देश चलाउन सक्ने पार्टी नेकपा एमाले मात्रै भएको जनताले बुझिसकेको एमाले ४ नं. क्षेत्रीय संयोजक मिश्रले थपेका छन्, ‘हाम्रा घोषणा पत्रमा उल्लेख भएअनुसार ५ वर्षमा गरिने “ट्वान्टी ग्यारेन्टी” कामप्रति जनताको विश्वास, राष्ट्र र राष्ट्रियताप्रतिको हाम्रा अध्यक्ष केपी शर्मा ओलीको चट्टानी अडान आदि कारणले जनताले आफ्नो पार्टीलाई विस्वास गरेर हिजो पनि मतदान गरेका थिए र आज पनि मतदान गर्ने छन् ।’

अहिले देशमा राजनीतिक माहोल बिग्रिएको, जनतामा दलप्रतिको वितृष्णा बढेको समयमा कसरी एमालेले जित्छ भनेर दावी गर्नुहुन्छ भन्ने पत्रकार सावित्रा दाहालसँगको संक्षिप्त कुराकानीमा एमाले नेता मिश्रले भने– यस क्षेत्रमा एमालेका संगठित सदस्य, समर्थक र शुभचिन्तक अत्याधिक रहेको र उहाँहरुको सक्रियता र साथ नै एमालेले जित्ने बलियो आधार हो । युवाको पार्टीप्रतिको आकर्षण अहिले पनि उत्तिकै छ । चुनावी अभियानका क्रममा थुप्रै युवाले अन्य विभिन्न पार्टी छोडेर नकपा एमाले प्रवेश गरेबाट पनि यसलाई पुष्टि गर्न सकिन्छ । यसको अतिरिक्त नेकपा एमाले सरकारले गरेका महत्वपूर्ण कामहरु आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रम, गुमेको जमिन समेट्ने काम, अन्यायपूर्ण नाकाबन्दीको शसक्त प्रतिकार, रेलको सपना साकार पारेको, सुरुङ्ग मार्गको काम भइरहेको, चिनसँगको पारवहन सन्धी लगायत एमालेले राष्ट्रियस्तरमा गरेका महत्वपूर्ण कामको सकारात्मक प्रभावका कारण देशभर नै एमालेको विजयी हुने बलिया आधार हुन् ।

विभिन्न पार्टीका उम्मेदवारहरुले पनि आफूहरु स्वतन्त्र भएको भनी मतदातालाई झुक्याएर भोट मागिरहेकोले यस्ता उम्मेदवारबाट सचेत रहन मतदातालाई आग्रह गर्दै नेता मिश्रले निर्धक्क भएर मतदान गर्न सबै मतदातामा अपील पनि गरेका छन् । “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न मतदाताको एमालेलई अपार साथ रहेको र एमालेको माहोल देखेर गठबन्धन अत्तालिएको बताउँदै विजय उत्सवको तयारीमा रहन उनले आम मतदातालाई आग्रह पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *