Sajhamanch Archive

पूर्वाधार विकासका कामलाई अधुरो छाड्ने निर्माण कम्पनीलाई कडाईका साथ खबरदारी गर्ने सांसद साँवाको प्रतिबद्धता

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले आफ्नो क्षेत्रका अधुरा रहेका विकाश निर्माणको कामलाई पुरा गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

झापाको पर्यटकीय क्षेत्र दोमुखामा आज निर्वाचिन भएपछिको पहिलो पत्रकार भेटघाटका क्रममा उनले क्षेत्र नं. ४ मा विभिन्न कारणले रोकिएर रहेका विकास निर्माणका कामलाई पुरा गर्न निर्माण कम्पनीलाई खवरदारी गर्ने बताएका हन् ।

निर्माण कम्पनीले सडक, पुल जस्ता ठुला आयोजनाहरु समयमा काम नसक्दा नागरिकले सास्ती व्यहोर्नु परेको छ । उनले भने, निर्माण कम्पनीको बेइमानीले हामी निर्वाचित जनप्रतिनिधि समेत आलोचित बन्न पुगेका छौं । अब आजकै दिनबाट निर्माण कम्पनीले के कति कारणले काम रोकेका छन् । यसको खोजी सुरु हुन्छ ।

झापाको हुलाकी राजमार्गमा पर्ने कनकाई, विरिङ्ग नदिको निर्माणाधिन पुल लामो समयसम्म पनि निर्माण कार्य पुरा नहुँदा सडक सञ्चालनमा आएपनि पुलको कारण असहज बनेको छ । आगामी पाँच वर्ष भित्रमा सो पुलको निर्माण कार्य पुरा गर्ने सांसद साँवाले प्रतिबद्धता जनाएका छन् ।

पत्रकाहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भने, कुन नेताको कुन निर्माण कम्पनी नजिकको मान्छे हो, भन्ने तिर होइन, जुनै निर्माण कम्पनी भएपनि पूर्वाधार विकास निर्माणको काम समयमै सक्नु पर्छ भन्ने हो । त्यसलाई पत्रकार साथीहरुले पनि आजै खबरदारी गर्न लाग्नुहोस। उनले भने, निर्माण कार्य समयमै पुरा गराउन खबरदारी गर्नु तपाई हाम्रै दायित्व हो ।

उनले जनताको आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका थुप्रै विषयहरु रहेको बताए । सबै विषयहरुलाई प्राथमिकताका आधारमा पुरा गर्दै लगिने समेत जानकारी गराएका छन् ।

निर्वाचनको दौरानमा एमालेको तर्फवाट उम्मेदवार भएर प्रतिष्पर्धा गरे पनि झापा क्षेत्र नं. ४ का जनताको प्रतिनिधि भएको हुँदा जनताको शिर उच्च राख्ने गरी काम गर्ने बताए । उनले आफू निर्वाचित भएपछि कुनै दल वा क्षेत्रका आधारमा फरक ब्यवहार नगर्ने भन्दै सम्पूर्ण सञ्चार कर्मी र मतदाताहरुलाई धन्यवाद दिएका थिए ।

पत्रकार भेटघाटको अवसरमा पूर्व सांसद तारासम याङया, शिवसताक्षी नगर प्रमुख रोशन थोप्रा लगायतको पनि उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *