Sajhamanch Archive

झापा कारागारमा जबरजस्ती करणीका अभियुक्त सबैभन्दा धेरै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

झापा । देशभर शृङ्खलाबद्व रुपमा बलात्कारका घटना भइरहेको बेला झापा पनि त्यसबाट अछुतो रहेको छैन । झापामा वर्षेनि सयको हाराहारीमा बलात्कारका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय र कारागारको पछिल्लो तथ्याङ्कले पुष्टि गरेको छ ।

दुई महिना अघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भयो । यो घटना कसले गरायो ? आजका दिनसम्म सरकार वा कसैलाई थाहा छैन । तर यो दुई महिनाको अवधिमा देशैभर दिनहुँ कम्तीमा पनि थप एकजनाको बलात्कार र हत्या भइरहेको समाचारहरु आएका छन् ।

झापाको अर्जुनधारा, हल्दिबारी, बिर्तामोड, दमक वा अन्य ठाउँका बालबालिका यस्तै घटनाबाट प्रताडित बनेका छन् । बलात्कारका घटना नियन्त्रण गर्न विभिन्न सञ्जाल गठन भएका छन् । बालबालिका, किशोरी तथा महिलाहरुले आफ्नो आत्मरक्षाका लागि तालिम पनि लिइरहेका छन् । तर, यस्ता घटनामा कमी आएको पाइन्न ।

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेकामध्ये सबैभन्दा बढी बलात्कार मुद्वाका अभियुक्त रहेको कारागार प्रशासनले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ ।

जिल्ला कारागारको पछिल्लो तथ्याङ्कले सबैभन्दा बढी अभियुक्त बलात्कार मुद्वाका भएको देखाएको हो । तथ्याङ्कका आधारमा झापामा सबैभन्दा बढी जवरजस्ती करणीसँग सम्बन्धित अपराधका घटना हुने गरेको छ ।

‘तुलनात्मक रुपमा हेर्दा जबरजस्ती करणी मुद्वाका अभियुक्तको संख्या अन्य अपराधिक घटनाको भन्दाबढी छ’, झापा कारागारका प्रमुख यज्ञनाथ निरौलाले भने, ‘बालकदेखि पाको उमेरका अभियुक्त पनि जबरजस्ती करणी मुद्वामा सजाय भोगिरहेका छन् ।’

उनका अनुसार गत सोमबारसम्म बलात्कार मुद्दामा २७४ जना अभियुक्तमध्ये ८६ जनाले कैद सजाय भुक्तान गरिरहेका छन् । बाँकी १८८ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् ।

जबरजस्ती करणी मुद्वामा अधिकांश बालिका तथा किशोरी बलात्कारका अभियुक्त रहेको कारागार प्रमुख निरौलाले बताए । बलात्कारपछि झापामा कर्तव्य ज्यान मुद्वाका अभियुक्त बढी छन् ।

कारागार प्रमुख निरौलाले कर्तव्य ज्यान मुद्दामा १३ महिलासहित ९८ जना कैदी बन्दी रहेको जानकारी दिए । जिल्ला कारागारमा हालको तथ्याङ्क अनुसार १ हजार ३२ जना कैदी बन्दी रहेका छन् । जसमा पुरुषको संख्या ९४२, महिला ८६ र बालबालिका ४ जना रहेको कारागार कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको गतवर्षको तथ्याङ्कले पनि लागूपदार्थ भन्दा बलात्कारका अभियुक्त बढी भएको देखाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा झापामा बलात्कारका १३३ र लागूपदार्थ मुद्वामा १२६ जना अभियुक्त पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७३/०७४ मा पनि बलात्कारका ९९ वटा मुद्वा प्रहरीले अदालतमा दर्ता गराएको थियो । एक वर्षमा भएका १ हजार ६८७ वटा अपराधका घटनामध्ये १३३ वटा बलात्कार र बलात्कार प्रयासका घटना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *