Sajhamanch Archive

खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा कचनकवलमा दीपावली

Published: in समाज, स्वास्थ्य by .

कचनकवल । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा हुँदैछ । सोको पूर्वसन्ध्यामा मंगलबार साँझ दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो ।

कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी बनाउने स्थानीय तह पनि हो ।

९ हजार ६६ घरधुरी रहेको कचनकवलमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार ४०३ घरमा सुरक्षित चर्पीको पहुँच रहेको थियो । अभियानको क्रममा बाँकी ५ हजार ६६३ घरधुरीमा चर्पीको निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

भौगोलिक, सरसफाई कभरेज र बसोबासका दृष्टिले पनि खुल्ला दिसामुक्त अभियानमा सबैभन्दा कठिन मानिएको कचनकवल खुल्ला दिसामुक्त घोषणा गर्ने झापाको १२औं स्थानीय तह हो ।

दीपावलीमा कचनकवलमा रहेका सरकारी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय, सरसफाई अभियानकर्ताहरु र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

यसअघि मंगलबार बिहान र दिउँसो जागरणमूलक र्याली र गौरवयात्रा गर्नुका साथै टोल सरसफाई गरिएको थियो ।

कचनकवल गाउँपालिकाको वडाको रुपमा रहेका साविकका बनियानी, बालुबाडी, केचना र घेराबारी यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । साविक पथरिया र पाठामारीसहित गाउँपालिका नै बुधबार खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

कचनकवल गाउँपालिकामा विराट सामुदायिक अध्ययन केन्द्र र सहारा नेपालले खुल्ला दिसामुक्त अभियानको सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *