Sajhamanch Archive

संसद्को वर्षे अधिवेशन सकियो : जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चल्यो

Published: (Updated: ) in प्रदेश तह by .

विराटनगर । प्रदेश १ को प्रदेशसभाको वर्षे अधिवेशन मंगलबार सकिएको छ  । जेठ १७ मा सुरु अधिवेशन १ सय ३० दिन चलेर अन्त्य भएको हो  ।

मंगलबारको बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सुनाए । सरकारले प्रदेशको स्थायी राजधानी र नामांकनको प्रस्ताव ल्याउने तयारी गरे पनि सहमतिका लागि समय अपुग भएको भन्दै दर्ता गराइएन । यो अवधिमा ५८ पटक बैठक बसेको सभामुख भण्डारीले बताए ।

प्रदेशसभाले वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा १२ विधेयक पारित गरेको छ । अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण विधेयक, विनियोजन विधेयक, जिल्लाको काम कर्तव्य र अधिकार विधेयक पारित भए ।

यस्तै अन्तर प्रदेश बासिन्दाको समान व्यवहार सुरक्षा र सुविधासम्बन्धी विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश सामाजिक विकास संस्था विधेयक पारित भए । प्रशासकीय कार्यविधि नियमन गर्ने विधेयक, प्रदेश वित्त व्यवस्थापनसम्बन्धी विधेयक, प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक, प्रदेश घरेलु हिंसाबारे व्यवस्था गर्ने विधेयक र सिँचाइसम्बन्धी विधेयक पारित भए । प्रदेश सभाको पहिलो बैठकले ११ विधेयक पारित गरेको थियो ।

प्रदेश सुशासनको प्रत्याभूतिसम्बन्धी विधेयक र प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न विधेयक विषयगत समितिमा पठाइएको छ । यस्तै प्रदेशको खेलकुदसम्बन्धी विधेयक संशोधनका लागि सूचना दिएको छ ।

विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भवन निर्माणसम्बन्धी विधेयक सचिवालयमा दर्ता भएको छ । वैठकमा बोल्दै मुख्यमन्त्री शेरधन राईले संविधानसभाले ५ वर्ष ८ महिनामा पनि टुंगोमा पुर्‍याउन नसकेको विषय प्रदेशसभाको काँधमा आएको भन्दै सहमतिबाट किनारा लगाइने बताए । उनले संसद्को तेस्रो अधिवेशनको सुरुमै स्थायी राजधानी र नामकरणको विषय प्रवेश हुने जनाए ।

प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकार सुस्त भएको आरोप लगाए । उनले शान्ति सुरक्षा कायम गर्न नसकेको, संघीय सरकारवाट अधिकार लिन नसकेको भन्दै आलोचना गरे ।

समाजवादी फोरम नेपाल प्रदेश संसदीय दलका नेता जयराम यादवले राजधानीको विषय सार्ने कुराले निको भएको घाउ
कोट्याउन खोजिएको भन्दै त्यसो नगर्न आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा राईले प्रदेशको नाम र राजधानीको टुंगो नलाग्दा मन खिन्न भएको बताइन् ।

प्रेसमाथि खनिए मुख्यमन्त्री
बैठकमा मन्तव्य राख्ने क्रममा मुख्यमन्त्री राईले स्थायी राजधानी र प्रदेशको नामको विषयमा पत्रकारले जथाभावी लेखेको आरोप लगाए । त्यसक्रममा उनी आक्रोसित भएका थिए । उनले सञ्चार माध्यमको दुरुपयोग गरिएको आरोपसमेत लगाए । ‘विषयलाई हल्का ढंगले लिइयो, मिडियाको दुरुपयोग भयो,’ उनले भने, ‘न्यूनतम व्यावसायिक मर्यादाको ख्याल नगरी त्यतिकै जस्तो पायो त्यस्तै कुरा लेख्ने र प्रकाशित गर्ने कुरा गरेर सतहमा टिकाटिप्पणी गर्ने र छताछुल्ल पार्ने काम भयो ।’

स्थायी राजधानी र नाम पजनी गर्ने अधिकार अरू कसैलाई नभएको राईको भनाइ थियो । ‘कलम चलाउँदा विचार गरेर मर्यादालाई ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘सपना देखेर समाचार नबनाउँ ।’ पत्रकारले आफ्नो मर्यादा, हैसियत, स्तर र व्यावसायिकताबाट च्युत भएर कलम चलाएको आरोप उनको थियो । मुख्यमन्त्री राईले राजधानी विकेन्द्रीकरण गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनका तिनै अभिव्यक्ति सञ्चारमाध्यममा प्रकाशित/प्रसारित भएका थिए ।

राजधानी र नामकरणबारे छलफल गर्न बोलाइएको उनकै दल नेकपाको संसदीय दलको बैठकमा अधिकांश सदस्य मुख्यमन्त्रीको प्रस्ताव विपरीत विकेन्द्रकरणको विपक्षमा उभिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *