Sajhamanch Archive

सभामुखमा एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने ओलीको तयारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by .

काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ ।

महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू भोली बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि भोली प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १३८ सदस्यको मत आवश्यक पर्नेछ ।

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई अघि सार्ने तयारी गरेको छ । नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागिसकेको छैन । प्रतिनिधिसभाका सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरेको नाम चर्चामा आएको छ । ०५६ मा राष्ट्रिय सभा सदस्य भइसकेका घिमिरेको नाम सभामुखको उम्मेदवारको रुपमा चर्चामा आएको हो ।

सत्ता गठबन्धनमा एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भएको छ । सभामुखमा एमालेका पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा, विद्या भट्टराईको नाम बाहिर आएको छ । एमाले संसदीय दलले घिमिरेलाई बुधबार नागरिकता र दुई वटा फोटो लिएर आउन आग्रह गरेसँगै उनको नाम पक्का भएको हुन सक्ने आकलन गरिएको हो ।

‘नागरिकता र फोटो मागिएको छ । केही जिम्मेवारी पाउने हो की जस्तो लागेको छ’, उनले भने । आफूले सभामुखको जिम्मेवारी पाए निष्पक्ष ढंगले निर्वाह गर्ने उनले बताए ।

‘मसँग राष्ट्रिय सभाको सदस्य भएको संसदीय अनुभव छ,’ उनले भने, ‘यदि जिम्मेवारी पाएको अवस्थामा निर्वाह गर्न सक्छु ।’ अर्जुनधारा नगरपालिका वडा ६ झापाका उनी २८ हजार ७१६ मत ल्याउदै झापा २ बाट निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २,२६१ मतले पराजित गरेका हुन् । ०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा–३ मा जन्मिएका घिमिरेले स्नातक अध्ययन गरेका छन् ।

०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश–१ का इञ्चार्ज हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *