Sajhamanch Archive

सुनसरीमा हात्ती आत्तंक : एकजनाको मृत्यु, दर्जनौं घर भत्कायो

Published: in विविधा, समाज by .

धरान: सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा जङ्गली हात्तीले आत्तंक मच्चाउन थालेपछी स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुर्‍याएको छ।

भारतबाट दुई दर्जनभन्दा बढिको संख्यामा आएका जङ्गली हात्तीको आक्रमणबाट बराहक्षेत्र नगरपालिका–५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए। उनले हात्तीले दर्जन बढी सर्वसाधारणका घर, गोठ र कृषि फर्ममा क्षति पुर्याएको जानकारी दिए।

त्यस्तै धरान १७ मा पनि जङ्गली हात्तीले आत्तंक मच्चाउन थालेको वडाअध्यक्ष मनोज भट्टराईले बताएका छन्। उनले धरान १७ को कुम्भिआहाल, पटनाली क्षेत्रमा सर्बसाधारणको घर, कृषि फर्ममा हात्तीले आक्रमण गर्दा लाखौं रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको बताए। धरानको चारकोसे जङ्गलभरी छरिएर बसेका हात्तीको समुह मानव बस्तीमा प्रवेश गरी बालीइ नष्ट गरिदिने, घर गोठ भत्काउने गरेका कारण सर्वसाधारणलाई आवत जावतमा समेत समस्या भएको छ।

जङ्गली हात्तीको समुह सुनसरीको धरान, चतरा, नडाहा, चक्रघट्टी, बयरवन लगायतका स्थानमा हुल बाधेर मानव बस्तीमा प्रवेश गरी आत्तंक मच्चाउन थालेको बराहक्षेत्र नम्बर १ का स्थानीय तीर्थ सिंदेलले बताए। उनले समयमा नै हात्ती नियन्त्रणको काम गर्न नसकिए ठूलो जनधनको क्षति पुर्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्। स्थानीय वासिन्दाले तत्काल हात्ती आत्तंक नियन्त्रण गरि शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका छन्।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले हात्ती आतंक नियन्त्रण गर्न नगर प्रहरी सहितका सुरक्षाकर्मी परिचालन जनधनको क्षति नियन्त्रण गर्न दैनिक हात्ती धपाउने काम भैरहेको बताए। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जङ्गली हात्तीको आत्तंक नियन्त्रण गर्न जनपथ, सशस्त्र र नेपाली सेना परिचालन गरिएको बताए। उनले जङ्गली हात्तीको आक्रमणबाट बच्नका लागि हात्ती प्रभावित क्षेत्रका सर्वसाधारणलाई सचेत हुनसमेत आग्रह गरिएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *