रवि लामिछानेको सांसद पद खारेज : ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’
Published: (Updated: )
by .काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो ।
संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए । उम्मेदवार बन्न नेपाली नागरिकता प्राप्त व्यक्ति हुनै पर्ने कानुनी व्यवस्था रहेकोमा लामिछानेको उम्मेदवारी गैरकानुनी रहेको ठहर संवैधानिक इजलासले गरेको छ ।
‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’
रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’
अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’
प्रश्न : सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ ?
रवि : तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभएको नै थाहा छैन ।
प्रश्न : योभन्दा अगाडि त गृहमन्त्री हुनुहुन्थ्यो नि !
रवि : यतिखेर म अनागरिक छु, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।
प्रश्न : अब के गर्नुहुन्छ ?
रवि : थाहा छैन मलाई । एउटा अनागरिकले के गर्छ बुझेकै छैन मैले ।
प्रश्न : सर्वोच्चको फैसलालाई कुन रुपमा लिनुभएको छ ?
रवि : स्वागत गर्छु, स्वीकार गर्छु । सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय छ र ? अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालें, एउटा अनागरिकले के उत्तर दिने ।
प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष ?
रवि : म अध्यक्ष रहिनँ सर । म केही पनि होइन, कहींको पनि होइन ।
प्रश्न : नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानुहुन्छ ?
रवि : यो सबै प्रश्नहरुको मसँग कुनै जवाफ छैन । तपाईंहरुले कसलाई प्रश्न सोध्नुभएको ? प्रश्न सोध्न कुनै परिचय चाहिन्छ । यतिखेर कुनै परिचय नभएको एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।
प्रश्न : जनताले माया गरेको व्यक्ति त हो नि तपाईं ?
रवि : त्यो पनि मलाई थाहा भएन ।
प्रश्न : रास्वपाको सभापति अब को हो त ?
रवि : खै थाहा भएन ।
Comments