Sajhamanch Archive

दूधेमा माविका विद्यार्थीले बनाए विद्युतीय गाडी, नगरप्रमुखलाई राखेर बजार परिक्रममा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडीको आज उद्घाटन गरिएको छ ।

शिवसताक्षी ११, दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय गाडी आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो ।

उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उप्रमुख नगरमाया कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात विद्यार्थीहरुले सोही गाडीमा राखेर नगरप्रमुख थोप्रालाई दूधे बजार परिक्रममा गराएका थिए ।

विद्यालयमा अध्ययरत प्रशन्न दवाडी, निशान शंकर र सन्देश बरालले स्थानीय बस्नेत गृलमा निर्माण गरेका हुन् । उनीहरुले पढाई साथ साथै एक महिना अघिदेखि गाडी निर्माणमा लागेका थिए । करिब १ लाख ५० हजार खर्चमा चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गरिएको विद्यार्थी निशान शंकरले जानकारी दिए । उनीहरुले यस अघि पनि विद्यालयहरुमा रकेट, वाटर पम्प, सानो रिमोट कन्ट्रोल कार लगायतका सामाग्रीहरु बनाउँदै आएका थिए । यस गाडी निर्माणका लागि केहीबाट सहयोग जुटेमा मोटर साइकलको इन्जिनबाट चल्ने गाडी निर्माण गर्ने बताएका छन् ।

उक्त गाडीमा तीनजना सवारी गर्न सकिने प्रशन्न दवाडीले बताए । दवाडीका अनुसार गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ। गााडी प्रतिघण्टा ३० किलोमिटरको गतिसम्म कुद्न सक्छ। गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ।
यता शिवसताक्षी नगरपालिका नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले गाडी निर्माण गरेको कामको प्रशंसा गरेका छन् । उनले नगरपालिकाले यस्ता प्रतिभाहरुको कदर गर्ने र हाललाई नगरको तर्फबाट २० हजार सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । नगरप्रमुख थोप्राले पछिल्लो समय सामुदायिक विद्यालयहरुले राम्रै फड्को मार्न थालेको बताए ।

नगर भित्रका नमुना विद्यालयका रुपमा केही मावि तहका विद्यालयहरु प्रतिश्पर्धामा रहेका छन् । विद्यालयको भौतिक स्तरोन्नती, खानेपानी सुविधा, स्कुल बसको सुविधा र शिक्षाको गुणस्तरमा सामुदायिक विद्यालयहरुमा आस लाग्दा कामहरु भएका छन् । यस दूधे मावि विद्यार्थीलाई विद्यालयसम्म आउनका लागि एउटा स्कुल बसको आवश्यक रहेकाले यसका लागि पनि नगरपालिकाले छलफल र गृहकार्य गरिरहेको नगर प्रमुख थोप्राको भनाई छ ।

यसैक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले विद्यार्थी भाईहरुले गाडी निर्माण गरेर नगर भित्रका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्टता हासिल गरेको महशुष भएको बताइन् । अब विद्यालयहरुमा यस्ता प्रतिभाहरुलागि पनि कदर हुने खालका पाठ्यक्रम लागु गर्नु पर्नेमा जोड दिइन् ।
विद्यालयको वार्षिकोत्सवमा विद्यालयका सेवा निवृत्त पूर्व प्रअ. कालीप्रसाद रिजाललाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कष्ट शिक्षकका रुपमा राकेश चौधरी र ज्ञानु दाहाललाई विद्यालयले सम्मान गरेको छ ।
त्यस्तै कार्यक्रममा विद्यालयका पूर्व प्र.अ. उमानाथ दाहाल र शिक्षक उर्मिला दाहालको नाममा राखिएको उमा उर्मिला छात्रवृत्ति अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।सुरुङ्गा निवासी चम्पा खनाल, गोकुल खनाल र लोकनाथ खनालले आफ्ना माता पिताको नाममा स्थापना गरेको जयनारायण र अयोध्यादेवी स्मृति छात्रवत्तिबाट गरिब तथा जेहेन्दार दुई विद्यार्थीलाई १२ हजार नगद प्रदान गरिएको थियो । उक्त छात्रबृत्ति चम्पा खनालले प्रदान गरेकी थिइन् ।

त्यसैगरी सोही विद्यालयमा अध्ययन गरी हाल अमेरिकाको कोलोडारोमा रहेका नारायण अधिकारी र सृजना अधिकारीले आफ्ना पिता माताका नाममा राखिएको बलबहादुर तथा पवित्रादेवी स्मृति छात्रवृत्ति कार्यक्रममा रु ३० हजार उहाँका परिवारले विद्यार्थीहरुलाई प्रदान गरेका छन् । कार्यक्रमा स्व.माङधुम्बो थेवे स्मृति अक्षयकोष स्थानीय शिवमाया थेवे १ लाख ११ हजार १ सय ११ विद्यालयलाई प्रदान गरेकी छिन् । उक्त रकम गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई प्रदान गरिने विद्यालयले जनाएको छ ।

त्यसैगरी आफ्ना माता पिताका नामबाट लुका राई र विशाल राईले स्थापना गरेको संहधन राधिका राई छात्र बृत्ति अक्षयकोषको रु १ लाख १११ रकम पनि विद्यार्थीलाई प्रदान गरिएको थियो । सोही कार्यक्रमा सतासीधाम जेसीजले पनि श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमा विद्यालयका प्र.अ. लालमणि सुवेदीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द काफ्लेले गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *