Sajhamanch Archive

‘विद्यार्थीहरुको एकता त्रिदेवको गहना’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by .

त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिविको नीति, नियम, विनियम र निर्देशिकालाई पालना गरी सहयोग गर्न नेपाल सरकार, सुरक्षा निकाय, राजनैतिक दल, विद्यार्थी, प्राध्यापक, कर्मचारी, अभिभावक लगायत आम सरोकारवालाहरुलाई अपीलसमेत गरेका छन् । यही सेरोफेरो केन्द्रित रहेर झापाको मेचीनगर १३ मा रहेको त्रिदेव बहुमुखी क्याम्पसका प्रमुख निर्वाचन अधिकृत गोपाल प्याकुरेलसँग पत्रकार सावित्रा दाहालले कुराकानी गर्नुभएको छ ।

त्रिदेव बहुमुखी क्याम्पसको निर्वाचनलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ ?

यस क्याम्पसमा सम्पन्न हुने स्ववियुको निर्वाचनको अन्तिम तयारी पूरा भइसकेको छ । त्रिविले तोकेको कार्यतालिका अनुसार हामीले निर्धारित समयमा विद्यार्थी भर्ना गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारी दर्ता गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मतपत्र छपाई लगायतका काम सम्पन्न गरेका छौं । मतपेटिकाको लागि जिल्ला निर्वाचन कार्यलयसँग समन्वय गरी व्यवस्था गरिएको छ । अहिले मौन अवधी सुरु भएको छ । आचारसंहिताको कडाईका साथ पालना भइरहको छ । बुथको निर्माण कार्य पूरा भइसकेको छ । चैत ५ गते बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्ममा मतदान कार्य गर्ने तयारीमा हामी जुटेका छौं ।

गोपाल प्याकुरेल

विद्यार्थी संघ–संगठनको सहयोग र प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

हामीले नीतिमा भएको व्यवस्थालाई सोही अनुसार र नीतिमा नभएको कुरा थप व्यवस्था गर्नुपर्ने अवस्था भएमा विद्यार्थी संघ–संगठनका नेताहरुसँग छलफल तथा अन्तक्रिया गरी समझदारीका साथ अघि बढेका छौं । जसका कारण निर्वाचन सम्बन्धी विद्यार्थीहरुबाट कुनै अप्ठाराहरु आएका छैनन् । विद्यार्थी बीच कुनै विवाद छैन । यो त्रिदेवको गौरवको कुरा हो । विद्यार्थीहरुको एकता त्रिदेवको गहना नै भन्नुपर्छ ।

तपाईंको क्याम्पसमा कतिजना मतदाता विद्यार्थीहरु छन् र कतिवटा विद्यार्थी संगठन निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् ?

यस क्याम्पसमा १ हजार चार जना मतदाता विद्यार्थी छन् । समयसीमा भित्र भर्ना नभएका विद्यार्थीलाई मतदाता नामावलीमा सूचीकृत गरिएको छैन । हाम्रो क्याम्पसमा ५ वटा विद्यार्थी संगठन दर्ता भएका छन् । जसमध्ये एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपाको विद्यार्थी संगठन राप्रवि संघले उम्मेदवारी दर्ता गरेका छन् ।

क्रान्तिकारी विद्यार्थी संगठनले समानुपातिकमा मात्र दर्ता गरेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले प्रत्यक्षमा नेविसंघसँग एलाइन्स गरेको छ । एमाले निकट अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको छ । एकीकृत समाजवादी निकट अखिलले संगठन दर्ता गरे पनि समानुपातिक तथा प्रत्यक्ष दुवैतर्फ उम्मेदवारी दर्ता गरेको छैन ।

निर्वाचन सुरक्षाको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?

सुरक्षाको कडा व्यवस्था मिलाइएको छ । मतदान स्थलमा नेपाल प्रहरीका १० जना सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्नेछन् । मतदान स्थल बाहिर पनि नेपाल प्रहरीको मोवाइल गस्ती र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिको व्यवस्था मिलाइएको छ ।

निर्वाचनका सम्दर्भमा आम सरोकारवालाको सहयोग कस्तो पाइरहनु भएको छ ?

यस क्याम्पसको निर्वाचन सम्पन्न गर्न क्याम्पस सञ्चालक समिति, प्रशासन र विद्यार्थीहरुले भरपुर सहयोग गरेका छन् । हाम्रो अपेक्षा छ, राजनीतिक दलले सहज रुपमा निर्वाचन सम्पन्न गर्न आफ्ना भातृ संगठनहरुलाई सही र असल सुझाव दिएर निर्वाचनलाई सहजरुपमा भयरहित सम्पन्न गर्न सहयोग गर्नुहुनेछ ।
यसको अतिरिक्त विद्यार्थी संगठनको आग्रहमा निर्वाचन समिति, विद्यार्थी संघ संगठनका प्रतिनिधिहरुको संयुक्त बैठकको निर्णयअनुसार मतदान स्थलमा मतदाताहरुलाई मुलगेटबाट मोवाइल, पर्स र व्याग लान निषेध गरिएकोले उक्त कार्यमा सहयोग गर्न र निर्वाचन समितिले तोकेको चारकिल्ला भित्र होहल्ला भिडभाड र प्रचार प्रसार नगर्न साथै तोकिएका व्यक्ति बाहेक अन्य व्यक्तिहरु प्रवेश नर्गन समेत अनुरोध गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *