Sajhamanch Archive

मेची सहकारीमा सदस्य शिक्षा एवम् वित्तीय साक्षरताको पहिलो चरण सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लाइभ, शिक्षा, समाज, सहकारी by .

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको अन्तिम सदस्य शिक्षा एवम् वित्तीय साक्षरता कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई सेवा केन्द्र कार्यालयमा आमन्त्रण गरी संस्थाले शनिवार सदस्य शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरेको हो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नागरायणप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सहजीकरण गरेका थिए । पछिल्लो समय सहकारी संस्थाहरुको विरुद्धमा विभिन्न अभियान सञ्चालन भइरहेको बेला मेची सहकारीले आफ्ना सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थितिका बारेमा मसिनो गरी जानकारी गराएको हो ।

शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको आयोजना तथा संयोजक लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा आयोजित सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बगालेले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सहजीकरण गरेका थिए । उनले संस्थाको वर्तमान अवस्था, संस्थाको वित्तीय अवस्था र उपलब्धी एवम् सहकारीका बारेमा बाहिर चलेका हल्ला एवम् अफवाहका बारेमा प्रकाश पारेका थिए ।

मेची सहकारीमा चालू आर्थिक वर्षको ६ महिनामा २३ करोड रुपैयाँले निक्षेप वृद्धि भएको, लामो अवधिको बचत ५८ दशमलव ७३ प्रतिशत र छोटो अवधिको बचत ४१ दशमलव २७ प्रतिशत रहेको, सदस्यको सुरक्षाको लागि बिना धितो कर्जा लगानी नगरिएको कारणले पनि संस्था मजवुत रहेको प्रमुख कार्यकारी अधिकृत बगालेले प्रष्ट पारेका थिए ।

आज कोही कसैले सहकारी वा बैंकबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न उक्साएको भरमा त्यसको पछि नलाग्न आग्रह गर्दै प्रमुख कार्यकारी अधिकृत बगालेले माओवादी द्वन्द्वकालमा बिजुलीको बिल नतिर्न, मालपोत नतिर्न उर्दि गर्नेहरुको पछि लाग्दा चारगुणा बढी रहक तिर्नुपरेको घटना स्मरण गराए ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले कुनै एक–दुई सहकारी संस्थाका सञ्चालक वा कर्मचारीले बदमासी गरेर सो संस्था बिग्रियो भन्दैमा सबै सहकारीहरु बिग्रिएका हुँदैनन् र सबैलाई एकै डालोमा राखेर हेर्न नमिल्ने बताए । उनले मेची सहकारी विधि पद्धति, सहकारी नीति नियमबाट सञ्चालन भइरहेकोले कुनै समस्या नआउने दावी गर्दै सहकारी सिद्धान्त विपरित सञ्चालित सहकारी संस्थाहरु समस्यामा पर्ने बताए ।

उनले भने, ‘मेची सहकारी सदस्यहरुकै कारण बलियो छ । सहकारी सञ्चालनका हरेक मापदण्ड ठिक छन् । मापदण्डहरु ठिक भएकाले मेची जोखिममा छैन ।’ अध्यक्ष भट्टराईले सदस्यहरुको बचतमा संस्थाले कुनै समस्या आउन नदिने विवास दिलाए । कुनै पनि सहकारीले सदस्यहरुको बचत रकममा समस्या आउन दिन नहुने बताउँदै अध्यक्ष भट्टराईले सदस्यहरुको बचत नै संस्थाको गहना भएको बताए ।

सहकारीमा आवद्ध जो कोही सदस्यहरुले आफ्नो संस्थाको बारेमा मसिनो गरी जानकारी लिनुपर्ने भन्दै अध्यक्ष भट्टराईले सोही महत्वलाई उजागर गर्न मेची बहुउदेश्यीय सहकारीले सदस्यहरुमाझ वित्तीय साक्षरता कार्यक्रम सत्तचालन गरिरहेको बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बगालेले यो चरणमा ३७ वटा सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउँदै बजार मूल्यभन्दा धेरै ब्याज दिएर कसैले पैसा किन्दैछ भने उक्त साँवा रकम पनि गुम्ने कुरामा सचेत हुन सदस्यहरुलाई आग्रह गरे ।

सदस्य शिक्षा कार्यक्रममा उपस्थितहरुलाई बिर्तामोड सेवा केन्द्र ब्यवस्थापन उपसमितिका संयोजक उत्तम खनालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिका सदस्य अम्बिका सापकोटाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *