बिर्तामोडका वडावडामा एमालेको मिसन ग्रासरूट
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा नेकपा एमालेले मिसन ग्रासरूट अभियान सञ्चालन गरिरहेको छ ।
वडाको बिस्तारित बैठकबाट प्रारम्भ भएको ग्रासरूट अभियानले सबै टोल कमिटीहरूमा भेला र बैठक गर्दै जनसंगठन एवम् जनवर्गीय संगठनहरूको अधिवेशन गरी गठन, पुनःगठन र पुनःताजगी गराइएको नगर किमटी अध्यक्ष सुवास भट्टराई बताउँछन् ।
आज बुधबारमात्र तीनवटा वडामा विस्तारित बैठक गरिएको र पार्टी प्रवेश गराइएको अध्यक्ष भट्टराईको भनाई छ । सोही क्रममा बिर्तामोड वडा नं ३ को बिस्तारित बैठक आदर्श समृद्धि टोलको सभाहलमा सम्पन्न गरिएको छ ।
नेकपा एमाले प्रदेश कमिटीका सदस्य एवम् कोशी प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा राजनीतिक प्रशिक्षणसहित विस्तारित बैठक सम्पन्न भएको हो । बैठकमा नेता कार्कीले एमाले नेतृत्वमा बनेका तीनै तहका सरकारले गरेका असल कामहरू उदाहरण दिँदै कार्यकर्ताहरूलाई रचनात्मक बन्न सुझाव दिए ।
बैठकमा पार्टी जिल्ला कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवम् वडाका लागि मिसन सहजकर्ता गोपाल काफ्लेले अभियान अन्तरगत गरिनुपर्ने बाँकी कामका बारेमा प्रकाश पारेका थिए । अभियान अन्तरगत अबको दुई दिनमा पार्टी सदस्यता नविकरण सम्पन्न गर्ने, नयाँ सदस्यहरू सिफारिस गर्ने, वडा कमिटीमा निष्क्रिय सदस्य पदाधिकारीलाई विदा गर्दै नयाँलाई पदस्थापन गर्ने, जनसंगठनहरूको भेला र बैठक गराउने आदि कामहरू अनिवार्य रूपमा सम्पादन गर्नुपर्ने उनले ओैंल्याएका थिए ।
वडा कमिटीका अध्यक्ष कुमार बुडाथोकीको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडाका इन्चार्ज हिमाल मैनाली र वडा सदस्य कीर्तिका गौतमले आ–आफ्ना धारणा राखेका थिए ।
Comments