Sajhamanch Archive

बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुने

Published: in गीत/संगीत/मनोरञ्जन, राजनीति, समाज by .

बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तर्गत जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौं कलाकारहरुको सहभागितामा २५ गते शनिबार बिर्तामोडमा सांगीतिक कार्यक्रम हुने भएको छ।

बिर्तामोडस्थित अतिथि सदनको भवनमा आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारहरु सहितको टिमले २५ गते बिर्तामोडस्थित सिटी सेन्टरको पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सांगीतिक कार्यक्रम गर्ने जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै जनवादी कलाकार जीवन शर्माले देशभर हुने सबैखाले मेला महोत्सवमा जनवादी कलाकारको सहभागिता गराउनुपर्ने माग राख्दै जनवादी कलाकार विना कुनैपनि सार्वजनिक मेला महोत्सव सञ्चालन नगर्न अपिल गरे ।

हरेक मेला महोत्सवमा छाडा खालका गीतले प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई बेवास्ता गरेर कुनैपनि कार्यक्रम आयोजना नगर्न शर्माले अपिल गरेका छन् ।

अर्धनग्न नृत्य र छाडा गीत संगीतमा कुम हल्लाउने नेताहरुलाई पनि सचेत गराउन आवश्यक रहेको भन्दै जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको शर्माको भनाई छ ।

जनताको पक्षमा राज्यसत्ता नहुँदा जनताका कलाकारहरु बेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको समेत उनले बताए ।

अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता छ । बामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।

चैत ४ मा धनगढीबाट शुरु भएको अभियात्रा वैशाख ५ गते काठमाडौं प्रज्ञा भवनमा पुगेर समापन हुने टोलीका सदस्य तथा कलाकार चिरण सिले जानकारी दिए। बिर्तामोडमा हुने सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *