Sajhamanch Archive

नारायण–संगीताको अनुकरणीय प्रयासः बर्देवा परिवार सहयोगको अपेक्षामा (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य, by .

झापा । विवाह वर्षगाँठ मनाउन सयौं पाहुनाहरु बोलाएर होटल रेष्टुरेन्टमा लाखौं खर्चनेहरुको बानीलाई रुपान्तरण गर्ने गरी ब्यवसायी–सामाजिक अभियन्ता चिमरिया दम्पत्तीले यहाँ अनुकरणीय कार्य प्रस्तुत गरेका छन् । तुलनात्मकरुपमा सानो खर्चमा उनीहरुले एउटा गरिब तथा अपाङ्ग युवाको परिवारमा खुसी छरेका हुन् ।

बिर्तामोडका व्यवसायी नारायण चिमरिया र उनकी पत्नी जेसिजकर्मी संगीता चिमरियाले विवाहको २५औं वर्षगाँठको अवसरमा वैशाख ४ गते सोमबार विपन्न तथा शारीरिक अपाङ्गता भएका बर्देवा परिवारलाई नगद तथा खाद्यान्न सहयोग गरेर समाज रुपान्तरणका लागि उदाहरण प्रस्तुत गरेका हुन् ।

दाता चिमरिया नेपाल अलैंची व्यवसायी महासंघका महासचिव हुन् । उनकी श्रीमती संगीता बिर्तामोड लेडी जेसीजको निवर्तमान अध्यक्ष तथा नेपाल महिला चेम्बर बिर्तामोड नगर समितिको अध्यक्ष हुन् ।

ब्यवसायी चिमरिया दम्पत्तीले बर्देवा परिवारका छोरा छोरीको पठन पाठनमा सहयोग पुगोस् भनेर केही रकम तथा खाद्यान्नमा दाल चामल प्रदान गरेका छन् । ‘१५ वर्षका छोरा कक्षा ९ मा र १० वर्षकी छोरी कक्षा ६ मा स्थानीय सरस्वती माविमा पढ्छन् । उनीहरुको भर्ना तथा कापी कितावका लागि केही रकम सहयोग गरेका हौं’ दाता संगीताले सुनाइन् ।

कसरी भयो यस्तो :

ताप्लेजुङ जिल्लाको साविक सादेवा ७ मा बसोबास रहेको प्रेमकुमार बर्देवा सुंगुरको पाठो किन्ने उद्देश्यले २०७५ साल असार २६ गते पाँचथरको फलैंचादेखि ओयाम दिदीको घर आउनेक्रममा ट्याक्सी दुर्घटनामा परी घाइते बनेका थिए । उनलाई बिर्तामोडको बिएण्डसी अस्पतालमा अढाई महिना लामो उपचार पछि जीवन त बाँचेको छ तर नाइटो मुनिको भाग चल्दैन । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

शारीरिक अपाङ्गता भएपछि पहाड जान नसक्ने भएका र त्यहाँ पनि बर्देवा परिवारको जमिन नभएकाले दाताहरुको सहयोगमा झापाको मेचीनगर १२ सहरेडाँगीमा वर्देवा परिवारका लागि ४ धुर जमिन लिएर घर निर्माण गरिएको छ । तर उक्त जमिन अझै बर्देवा परिवारको नाममा राजीनामा पास भएको छैन । ‘अझै केही रकम जग्गाधनीलाई बुझाउनै बाँकी छ, बुझाएर पास गर्ने भनेको …….’ बर्देवा रोक्निछन् ।

छोराछोरीको स्कूल विदा भएको समय पारेर श्रीमती छरछिमेकमा जनमन गर्न जाने गर्छिन् । प्रेमकुमारको पूर्ण अपाङ्गता परिचयपत्र बनेको छ र राज्यबाट मासिक चार हजार आउँछ । यसले परिवार चलाउनु पर्छ । तर प्रेमले नियमित सेवन गर्ने औषधी किन्नमात्र मासिक ८–१० हजार खर्च भइरहेको परिवारको गुनासो छ ।

सहयोगको अपेक्षामा परिवार :

दुर्घटनामा घाइते बनेपछि बर्देवा ओछ्यान परेको ५ वर्ष भयो । उनी ओछ्यानमै दिसा पिसाव गर्छन । पिसावको निकासका लागि क्याथेड्रल लगाइएको छ । दिसा कोट्याएर निकाल्नुु पर्ने अवस्था छ । शरीरको नाइटोदेखि तलको भाग चल्दैन, ठाउँ ठाउँमा घाउ छ । खुट्टाको धेरै भाग कुहिएको अवस्थामा छ । महिनाको ८ देखि १० हजारको ओषधि चाहिने बर्देवा परिवारलाई बाँच्नका लागि संघर्ष गरिरहनु परेको देखिन्छ ।

आर्थिक अवस्था नाजुक भएका कारण उनको परिवारलाई समस्या भएको हो । पूर्ण अपाङ्ग रहेका उनलाई सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बाहेक मनकारी दाताहरुले दिने केही सहयोग मात्र हो, जुन आजको अवस्थामा पूर्ण छैन । दाता चिमरिया भन्छन्, ‘बर्देवाको यो अवस्थालाई सञ्चार माध्यमले स्थान दिए कतै सहयोग जुट्थ्यो कि ! ?’

पूर्ण शारीरिक अपाङ्गता भएका प्रेमकुमार बर्देवा (दमाई)को नाममा बिर्तामोडस्थित लक्ष्मी बैंकमा खाता खोलिएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न खोलिएको उक्त बैंकको खाता नम्बर ०२९२००३२५८१ हो । सोही खातामा मनकारीहरुले सहयोग रकम जम्मा गरिदिएमा पनि बर्देवा परिवारको ठूलो उद्धार हुनेछ । मोवाइल नम्बर ९८२५९६८०२७ मा डायल गरी परिवारसँग प्रत्यक्ष कुराकानी पनि गर्न सकिने ब्यवसायी चिमरिया बताउँछन् ।

भिडियोमा हेर्नुस् प्रेमको अवस्था :

https://fb.watch/j_7br-tOek/

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *