Sajhamanch Archive

प्रदेश १ का ११ सय कर्मचारीले साउनदेखिको तलब पाएनन्, दशैंमा बेखर्ची हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

विराटनगर | संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् ।

संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए दसैँ खल्लो हुने आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए । तर, प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले भने सबै कर्मचारीलाई तलब र भत्ता दिएरै पठाउने दाबी गरे ।

न्यौपानेका अनुसार अन्यत्रबाट सरुवा भई प्रदेशमा हाजिर गरिरहेका सबै कर्मचारीलाई तलब र दसैँभत्ताको रकम भुक्तानी भइसकेको छ । तर, अन्य प्रदेशमा दरबन्दी भई प्रदेश १ मा खटाइएका कर्मचारीलाई भने तलब भुक्तानीमा समस्या भइरहेको उनले बताए । सचिव न्यौपानेले भने, ‘तर, हामी उनीहरूलाई पनि तलब र दसैैँ खर्च उपलब्ध गराउन पहल गरिरहेका छौँ ।’

विभिन्न ११ कार्यालयका कर्मचारीले तलब नपाएका हुन् । सिँचाइ विकास डिभिजन, सहरी विकास तथा भवन निर्माण, प्रदेश संग्रहालय, भू तथा जलाधार व्यवस्थापन, महिला तथा बालबालिका, शिक्षा विकास निर्देशनालय, डिभिजन वन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषिज्ञान केन्द्र र जिल्ला प्राविधिक कार्यालयका कर्मचारीले तलब नपाएका हुन् ।

त्यसो त प्रदेश सरकारले सबै जिल्लामा कार्यालय स्थापना गरिसकेको छैन । त्यसकारण संघीय सरकारले तलब निकासा गर्न समस्या भएको स्रोतको भनाइ छ । प्रदेशमातहतका कार्यालयमा महालेखापरीक्षकको कार्यालयले लेखा अधिकृत र लेखापाल पनि पठाएको छैन ।

दसैँमा पनि तलब र भत्ता नपाउने !

स्रोतका अनुसार तलब निकासा गर्न सक्ने अवस्था नभएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रह्लादप्रसाद सापकोटा बिदा लिएर दसैँ मनाउन हिँडिसकेका छन् । सो मन्त्रालयका एक कर्मचारीका अनुसार प्राविधिक जटिलताका कारण दसैँअगाडि नै तलब र भत्ता निकासी गर्न सकिने अवस्था छैन । उनले भने, ‘प्रदेश सरकारसँग रकम छैन र संघीय सरकारले अहिलेसम्म तलब पठाएको छैन, यसैले दसैँअघि भुक्तानी गर्ने अवस्था छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *