Sajhamanch Archive

तिरिङदेखि सलकपुरसम्म दश अवतारका धार्मिकस्थल रहेको ‘मोक्षधाम’ बनाउन कम्मर कस्दै तिरिङबासी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । झापाको पूर्वोत्तर भूगोल मेचीनगर–१ को तिरिङदेखि इलामको सलकपुरसम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयबासी जुटेका छन् ।

शनिबार वडा नम्बर १ को तिरिङ खोलास्थित देवीथानको चौतारामा भेला भएका स्थानीय बासिन्दाको भेलाले सो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने प्रतिवद्वता जनाएका हुन् ।

त्री ऋण गंगा दश अवतार दर्शन मोक्षधाम धार्मिक पर्या पर्यटन प्रवर्धन समितिका अध्यक्ष सञ्जय निरौलाको अध्यक्षता तथा चारआलीस्थित पाउ पाथिभरा धामका अध्यक्ष तिलक गिरीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।

भेलामा प्रमुख अतिथि गिरी, मेचीनगर–१ का वडा सदस्य चेतकुमार हुमागाई, कृष्ण थुम्की विकास बोर्डका अध्यक्ष हिम्मत क्षेत्री, समाजसेवीहरु खेमराज पुरी, लीलाप्रसाद न्यौपाने लगायतले सो क्षेत्रलाई पूर्व कै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघ झापाका सभापतिसमेत रहेका सोही ठाउँ निवासी समितिका अध्यक्ष निरौलाले महाभारतकालदेखि पौराणिक इतिहास बोकेको सो क्षेत्रलाई देश–विदेशमा ‘मोक्ष धाम’को रुपमा परिचित गराउने योजना रहेको बताए ।

उनका अनुसार मदन भण्डारी राजमार्गसमेत जोडिएको ठाउँ भएकोले सो क्षेत्रको विकासका लागि तिरिङदेखि सलकपुरसम्म दश अवतारका धार्मिकस्थल बनाइने छ ।

‘मोक्षधाम’मा मत्स्य, बराह, नर्सिंह, वामन, कुर्मु, पर्शुराम, राम, कृष्ण लगायतका दश अवतारहरुको मन्दिर निर्माण गरिने बताइएको छ ।

यस क्षेत्रमा विशाल कुण्ड, मदन भण्डारी मार्ग छेउमा पर्यटकका लागि ट्रेकिङ रुट, हरेक वर्ष सोह्रश्रद्वा, पितृमोक्षदान, हरेक वर्ष मेचीदेखि सलकपुरसम्म दश रथयात्रा, शनिबारलाई श्रमबारको रुपमा जनश्रमदान गरिने लगायतका कामहरुलाई अघि बढाइने समितिको योजना छ ।

धार्मिक पौराणिक इतिहास बोकेको सो ठाउँमा सतलसेन महाराज, भिमचण्डी आमा, पाण्डव, कृष्ण, सिता बसोबास गरेको महाभारतका पुस्तकहरुमा पनि पढ्न सकिन्छ ।

तिरिङ खोलाको छेउमा निरौला कुवामा वर्षौँदेखि ढुंगामा नाग (सर्प) चित्र स्पष्ट देखिन्छ । त्यहाँ बेला–बेला नाग आउने गरेका कारण उक्त कुवाबाट पानी झिक्न डराउन थालेको स्थानीय बताउँछन् । कहिलै पानी नसुक्ने पोखरी पनि सोही ठाउँमा रहेको छ ।

त्यस्तै तिरिङ खोला र छिरिङ खोपको बीचमा देवीथानको रुख रहेको छ । सो रुखलाई आजसम्म आएको ठूलो बाडी र प्रकोपले बगाउन नसकेको स्थानीय बताउँछन् ।

सो क्षेत्रलाई ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरको गौरवको योजनामा पार्न मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढोथोकीसँग छलफल भइरहेको अध्यक्ष निरौलाले बताए ।

भेलाको सञ्चालन समितिका महासचिव डिकेन्द्रकुमार थापाले गरेका थिए । भेलामा वडा सदस्य शान्तकुमार न्यौपाने लगायतका स्थानीयहरुको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *