‘एक घर एक करेसावारी’ अभियान शुरु
Published: (Updated: )
by .बाहुनडाँगी । केही न केही नयाँ काम गरेर चर्चामा आउने मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन वराल अहिले आफ्नो वडालाई विषादीमुक्त वडा बनाउने अभियानमा जुटेका छन् ।
पछिल्लो समय वडाध्यक्ष वरालले वडानम्बर ४ मा ‘एक घर एक करेसावारी’ अभियान शुरु गरेका छन् । उनलाई साथ दिएका छन् वडाका विभिन्न राजनीतिक दल, संघ संस्था र टोल विकास संस्थाहरुले । ‘हरेक किसानलाई अग्र्यानिक खेतीतर्फ आर्कषण गरी आफुलाई आवश्यक सागसब्जी आफै उत्पादन गर्नुपर्छ भन्ने मुख्यःउद्देश्य हो, यो अभियानको’ वडाध्यक्ष वरालले भने—‘त्यही भएर वडाले अनिवार्य रुपमा ‘एक घर एक करेसावारी’ अभियान शुरु गरेको हो । ’
स्थानीय जनहित सामुदायिक टोल विकास समितिले आयोजना गरेको बजार सरसफाई कार्यक्रममा जनहित, सरस्वती तथा शान्ति टोल विकास संस्थालाई विभिन्न साग सब्जीका बीउ बिजन वितरण गरिएको थियो । उक्त वडामा रहेका २२ वटै टोल विकास समितिलाई क्रमसः वीउ विजन वितरण गर्दै जाने वडाध्यक्ष वरालले बताए ।
सरसफाईका क्रममा टोल सफा राख्न विद्या बिकास एकाडेमीका सञ्चालक बद्री निरौलाले चारथान स्वागत बोर्ड तथा अर्जुन कार्कीले डस्विनको रुपमा प्रयोग गर्न १५ थान डोको प्रदान गरेका थिए ।
वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालको प्रमुख आतिथ्यता र गोपाल वराइलीको सञ्चालनमा भएको कार्यक्रमको सभापतित्व जनहित सामुदायिक टोल विकास समितिका अध्यक्ष करण अधिकारीले गरेका थिए । समाजसेवी अनुप कार्की, सशस्त्र प्रहरी बल नेपाल विओपी बाहुनडाँगी प्रमुख सशस्त्र प्रहरी निरीक्षक हेम वस्नेतलगायतले बोलेका थिए । टोलवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले अभियानलाई सकरात्मक भन्र्दै सफल पार्न लाग्ने बताए ।
Comments