Sajhamanch Archive

‘भेलामुनीमा धार्मिक तथा पर्यटकीय प्रतिष्ठान स्थापनामा मेरो विशेष अग्रसरता हो’ : वडाध्यक्ष सिकिन पासवान

Published: in अन्तर्वार्ता, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by .

वडा नं. ५ को वडाध्यक्ष विजयी हुनुभएको एक वर्ष बित्यो । वडाको विकासका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ?

विशेषगरी हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भनिरहेका छैनौं । अभौतिक र व्यक्तित्व विकास पनि यसै अन्तरगत राखेका छौं । हामीले वडाको बजेटमा विभिन्न सीपमूलक कार्यक्रहरु सञ्चालन गरिरहेका छौं । वडाबासी युवा, महिला, दलित, आदिबासी, जनजाति सबै समुदायहरु जो राज्यका हरेक निकाय र हरेक कुराबाट पछाडि पारिएको समुदाय छ, उहाँहरुको वृद्धि विकासको लागि विभिन्न खालका तालिम गरिरहेको छौं । हामीले युवासँग जोडिएर, आदिबासी जनजातिसँग जोडिएर भर्खरै साबुन, हार्पिक, फिनेल लगायतका सामग्रीहरु बनाउने तालिम गरायौं । कलेज लेभलका भाइ बहिनीहरुलाई कम्प्युटर तालिमको शुरुवात गरेका छौं । वातावरण मैत्री झोला बनाउने तालिम पनि शुरु हुँदैछ । किसानहरुका लागि बेमैसमी तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गर्ने तयारीमा छौं ।

वडाको भौतिक पूर्वाधार विकासको लागि चाहिँ तपाईको पहल के भइरहेको छ ?

शिवशताक्षी ५ को भौगोलिक कुरा गर्नुपर्दा पूर्वी भूभागमा कन्काई नदीको ठूलो प्रभाव देखिन्छ । यहाँ नदी कटानले वर्षेनी सयौं विगाहा उर्वर जमिन बालुवामा परिणत भइरहेको अवस्था छ । पश्चिीम भेगलाई हेर्ने हो भने कमल बनियानीले पनि धेरै मान्छेहरुको उठिबास लगाएको छ । यो दुई नदी हाम्रो प्रमुख समस्याको रुपमा रहेको छ । हामीले निर्वाचित भएर आएपपछिको पहिलो निर्णय हामी नदी नियन्त्रणमा लाग्नेछौ भन्ने गरेका थियौं । पहिला जनताको धनजनको क्षति हुनबाट रोक्नुपर्यो । त्यसपछि प्राविधिकबाट लागत इष्टमेट गराएर विकास निमार्ण कार्यमा लाग्ने कुरा थियो ।

हाम्रो वडामा जोडिएको कनकाई नदीको पश्चिमी भागमा जनताको तटबन्धन कार्यक्रममार्फत लगभग ९० प्रतिशत काम करिब ५–६ करोड रुपैयाँको लगानीमा कार्य सम्पन्न भएको छ । उता कमल र बनीयानीमा पनि दीर्घकालिन नियन्त्रणको काम गर्न नसके पनि अहिले रोकथामको लागि बाँसको पाइरिङ कार्य हुँदैछ ।

अर्कोतर्फ सडक सञ्जाल सुदृढ गर्न शिवगञ्ज–आमबाडीको सडक जिर्ण भएकोले कालोपत्रे गर्ने तयारीमा छौं । जहाँ बाक्लो बस्ती पनि छ र आवाज जावात पनि राम्रै हुने भएकाले वडाले निर्णय गरेको हो । नगरपालिका, प्रदेश र संघीय सरकारमा पनि योजना मागको सिफारिस गरिसकेका छौं । सालमारातर्फ पनि सडक सञ्जाल विस्तार गर्दै प्रमुख सडकहरु कालोपत्रे गर्ने तयारी छ ।

हाम्रो वडाका बासिन्दा अधिकांश कृषि पेशामा आवद्ध हुनुहुन्छ । कृषिलाई पनि प्रवर्धन गरेर अझ स्थायित्व हुनेगरी र किसानहरुको आयआर्जन बढाउने गरी हामी विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेका छौं । त्यसमध्ये अहिले हाम्रो पालिकामा पानी तान्ने मोटरहरु वितरण हुँदैछ । हाम्रो वडामा पनि २०–२५ जनाले त्यो सुविधा लिइसक्नुभएको छ । घाँस काट्ने मेसीन, मल्चीङ तथा टनेल प्लाष्टिक, औषधी लगायतका सामग्रीहरु पनि पालिकामार्फत वडाबासीलाई प्रदान गर्दै आइराखेका छौं ।

विषेशगरी हाम्रो वडा विकासको कन्सेप्ट बनाएका छौं । हामीले वडा गौरवको रुपमा धार्मिक प्रतिष्ठान स्थापना गर्ने गरी भेलामुनी कनकाई धार्मिक तथा पर्यटकीय प्रतिष्ठान स्थापनामा लागेका छौं । त्यो चाहिँ वडाकै पहिलो प्रतिष्ठान पवित्र कनकाई माईको किनारमा विकास गर्ने कन्सेप्ट छ । अहिले हाम्रो वडाको तर्फबाट बजेट विनियोजन गरेर पहिलो चोटी कनकाई माईको किनारमा उद्गम स्थानदेखि भारतको सीमानासम्म कहीँ पनि आधिकारिक मन्दिर थिएन । अब हाम्रो वडाको अग्रसरतामा यहाँ धार्मिक र पर्यटकीय स्थल बनाइँदैछ ।

शैक्षिक क्षेत्रको कुरागर्दा हामीले शिक्षामा विभेद नहुने गरी वडाकै तर्फबाट यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई टाई, वेल्ट, ब्याग तथा अन्य शैक्षिक सामग्रीहरु बजेट विनियोजन गरेर वितरण गरेका छौं । सामुदायिक र निजि विद्यालयका विद्यार्थीमा केही भिन्नता थियो त्यसलाई न्यूनीकरण गर्ने गरी वडाका दुईवटै आधारभूत विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेका छौं ।

ती विद्यालय अहिले निजी विद्यालयभन्दा हाईलेभलमा देखिन्छन् । अब चाँहि विद्यार्थी जस्तो भएर आइराख्न सकेका छन् । हिजो त्यही स्कूल जाने बच्चा विद्यार्थी हो कि होइनन् भन्ने कन्फ्युजन थियो, त्यो अहिले घटेको छ । सूर्योदय आधारभूत विद्यालय अहिले नगर स्मार्ट विद्यालयमा छनौट गरेर त्यहाँ अहिले लगभग ५० लाख रुपैयाँ खर्चेर भौतिक पूर्वाधारको काम भइरहेको छ ।

पछिल्लो समय जनतामाझ गएर तिनका आवश्यकता बारे पनि बुझ्ने गर्नु भएको छ कि ?

हामीले निर्वाचित भएको एकवर्ष पूरा भएको छ । जनताले हामीसँग राख्नु भएको त्यस्तो धेरै माग छैन । सामान्य के छ भने उहाँहरु भन्नु हुन्छः मेरो गाउँमा बिजुलीको पोल छैन, ह्युमपाइप राखिदिनु पर्यो, बाटो बिग्रेको छ । यसो एकदुई ट्रिपर ग्राबेल हाल्दिनु पर्यो भन्नुहुन्छ । हाम्रो वडाको बजेटले भ्याएसम्म समस्याको सम्बोधन गरिरहेका छौं । वडाको क्षमताले नभ्याएको अवस्थामा नगरमा योजना पेस गरेका छौं । यसर्थ जनताको आवश्यकता र मागबारे वडाध्यक्षको नाताले म सचेत छु ।

उसोभए तपाईंको वडामा जनताका आवश्यकता र योजनाहरुको सम्बोधन भइरहेको छ त ?

हामी पहिलो आर्थिक वर्षमा छौ । यो हाम्रो बजेट पनि चुनावी बजेट थियो । चुनावमा हाम्रो प्रतिबद्धताहरुलाई पूरागर्ने गरी हामीले हिजोदेखि सिलीङ बजेटहरु विनियोजन गर्यौ । हाम्रो कार्यलयमा कामै नदेखिने, हिजोजस्तो कागजमा मात्रै काम हुने, काम नदेखिने गरिरहेका छैनौ । हामीले एउटा साविक वडादेखि अर्को वडामा जोड्नेगरी पूलहरु निर्माणमा गरेका छौं । कहिँ शुरुवात भइसकेका छन् । कहीँ प्राम्भिक हिसाबले चलिरहेको छ । यहाँ राजवंशी ताजपुरिया आदिवासी समुदायको बसोबास छ । हामीले संस्कृति विकासका लागि ग्रामथान व्यबस्थित गरिराखेका छौं । मन्दिर बनाएर उहाँहरु पूजा अर्चना गरिराख्नु भएको थियो । अहिले हामीले कम्तीमा सिमेन्टेड बनाउने छौं । ग्रावेल नपुगेका ठाउँहरुमा पनि ग्रावेल विस्तार गरिसकेका छौं । बिजुली बत्ती पनि हामीले धेरै ठाउँमा विस्तार गरिसकेका छौं ।

– प्रशिक्षार्थी रणबीर लिम्बू

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *