Sajhamanch Archive

सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने

Published: in परदेश (प्रवास), मुख्य समाचार, लोकप्रिय, समाज by .

सिक्किम (भारत) । नेपालीहरुको पारम्परिक नौमति संस्कृतिको संरक्षण र सम्वर्धन गर्न सिक्किम सरकार जुटेको पाइएको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले ८ करोड़ २१ लाख रुपियाँको लागतमा नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने भएको जनाइएको हो ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले उक्त केन्द्रको लागि भवन निर्माणको विधिवत शिलान्यास गरेका छन् । सिक्किममा विश्वमै पहिलो नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण हुन लागेको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री तामाङले बताए । उनले भने यो धरोहर केन्द्र विश्वकै लागि एउटा अनुसन्धान केन्द्र बन्नेछ । यसले नेपालीहरुको बाजाहरुको संरक्षण मात्र नगरी विश्वलाई नै पर्यटकीय गन्तब्य पनि बनाउने छ । परियोजनाको शिलान्यासमा मुख्यमन्त्री तामाङले यसको भूमि पुजन गरेका हुन् ।

आगामी दुई वर्षमा निर्माण कार्य पूरा हुने बताइएको सो नौमति धरोहर सांस्कृतिक केन्द्र निर्माणको निम्ति सिक्किम सरकारको सांस्कृतिक एवम् धरोहर मामिलाले मन्त्रालयले पहिलो चरणमा ८ करोड़ २१ लाख रुपियाँ बजेट विनियोजन गरेको बताइएको छ । परियोजना अन्तर्गत कूल ८ वटा दुई तल्ले भवन निर्माण हुनेछन् । जसमा मनोरञ्जन तथा व्याख्यान केन्द्र, ५ वटा लाइभ वर्कशप, रेस्टुरेन्ट, १५० जना अटाउने बहुद्देश्यीय हल, इण्डोर स्पोर्ट्स कक्ष, यूथ होस्टेल, ओपन एयर थिएटर, कार पार्किङ, पारम्परिक प्रवेशद्वार, रेन वाटर हार्भेस्टिङ ट्याङ्क आदि निर्माण गरिने बताइएको छ ।

जिल्ला भ्रमणका क्रममा मुख्यमन्त्री पीएस गोलेले पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा उक्त सांस्कृतिक केन्द्र निर्माण हुने बताएका हुन् । प्रत्येक जात–जातिको चिनारी, धरोहर तथा विरासतको संरक्षण गर्दै सिक्किमलाई सबैको आकर्षणको केन्द्र बनाउन वर्तमान सरकार लागिपरेको मुख्यमन्त्री गोलेको भनाई छ । उनले सिक्किम कला र संकृतिको पनि धनी भएको दावी गरे । अनुसूचित जातिलाई गर्व गर्नसक्ने बनाउन वर्तमान सरकार लागेको मन्त्री गोलेको भनाई छ ।

एउटा संग्रहालयसहित पाँचवटा विभिन्न प्रशिक्षण कक्ष रहने धरोहरमा काठ र बाँसबाट वाद्यवादन तयार पार्ने साथै मूर्तिकलाको पनि प्रशिक्षण दिइनेÞ संस्कृति विभागका मुख्य अभियान्ता प्रज्ञा सिंहले जानकारी दिइन् ।

सिक्किमबाट फर्केर टिकाराम नेतिको रिपोर्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *