Sajhamanch Archive

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, हवाई तथा सडक यातायात सेवा प्रभावित हुनसक्ने

Published: in Weather, मिडियाबाट साभार by .

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मधेस प्रदेशका धेरै भूभाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

विभागले आज राति कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । कोसी प्रदेश र मधेस प्रदेशका धेरै भू–भाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने विभागले जनाएको छ । भारी वर्षा र मेघगर्जन तथा चट्याङले हुनसक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावकारण हुने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन पनि विभागले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *