Sajhamanch Archive

दमकका २०० विपन्न परिवारलाई झुल वितरण

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by .

दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको पहलमा दमकका विपन्न २०० परिवारलाई झुल वितरण गरिएको छ ।

दमक नगरको वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका विपन्न परिवारलाई टोलमै पुगेर झुल वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाडौ मिनभवनको प्रायोजनमा १०० र नगर उपप्रमुख भट्टराईको तर्फबाट १०० झुल वितरण गरिएको हो ।

केही दिनअघि दमक ५ को सुकुम्बासी परिवारमा एक बालकको मेनेन्जाइटिसबाट मृत्यु भएको खबर सुनेर त्यहाँ पुग्दा झुलसमेत किन्न नसकेर यत्तिकै सुत्ने गरेकाले मच्छडले टोकेर रोग लागेको थाहा पाएपछि आफूले सो कार्यको पहल गरेको उपप्रमुख भट्टराईको भनाई छ ।

कतिपयको लागि झुल खरिद गर्नु समान्य कुरा भएपनि विपन्न समुदायले झूल किन्न नसक्दा रोग लागेर ज्यानसमेत गुमाउन बाध्य हुनुपर्ने अवस्था रहेको भन्दै उनले सो को अन्त्यका लागि सानो सहयोग गरेको बताइन् ।

झूल वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ मिनभवनका अध्यक्ष नरेश खड्काले यसलाई सहयोगभन्दा पनि आफूहरुको मायाको चिनो भएको बताए । दमक नगर उपप्रमुख रेगिना भट्टराईको पहलमा आफूहरु यहाँसम्म आएर मायाको चिनो बाँड्न पाएको भन्दै उनले खुशी पनि व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *