Sajhamanch Archive

प्रदेश १ मा डेंगी संक्रमण फैलिँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

धनकुटा । कोशी प्रदेशमा डेंगी रोगको संक्रमण फैलन थालेको छ । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

निर्देशनालय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी र संखुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन् । मोरङ र झापामा पनि यसै हप्तादेखि डेंगी रोगबाट संक्रमण भएका बिरामी देखापरेको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । रोगबाट सुनसरी जिल्लाको धरानमा सबैभन्दा बढी बिरामी देखिएको उनले बताए ।

उपचारका लागि स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राखिएको निर्देशक बस्नेतको भनाइ छ । ‘नियन्त्रणका लागि जनशक्ति सक्रिय अवस्थामा राखिएको छ’ उनले भने, ‘तर लगातारको वर्षा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको छ ।’ बिरामीको तथ्यांक संकलनका लागि कर्मचारी परिचालन गरिएको उनले जनाए । स्थानीय पालिकासँग समन्वय गरेर संक्रमण नियन्त्रणमा अघि बढिने बस्नेतले बताए ।

त्यस्तै निर्देशनालयका ल्याब टेक्निसियन दिलिप सिंहका अनुसार हालसम्म धरानमा ४० र संखुवासभामा १८ जना डेंगीका बिरामी अस्पताल भर्ना भएका छन् । यो अस्पतालको सम्पर्कमा आएकाको मात्र तथ्यांक हो । तर घरैमा उपचार गराएका र आउनेक्रम जारी रहेकोले तत्थ्यांक बढ्न सक्ने सिंहको भनाइ छ ।

विगतमा मधेश तथा भित्री मधेशमा देखिने डेंगी पछिल्लो केही वर्षदेखि पहाडी जिल्लामा समेत देखिने भएकाले सजग रहन निर्देशनालय सूचित गरेको छ । २०७६ सालमा प्रदेशका १४ मध्ये ११ जिल्लामा डेंगी रोगको संक्रमण महामारीको रुपमा फैलिएको थियो । जसबाट पाँच हजारभन्दा बढी मानिस प्रभावित बनेका थिए ।

तर, त्यसपछिका वर्षहरूमा छिटपुट बिरामी देखिए पनि यसवर्ष सुनसरीमा बढी फैलिएकाले सजगता अपनाउन निर्देशनालयले सुझाएको छ । रोगबाट बच्न मानिसको बसोबास रहेको स्थानमा लामखुट्टेका लार्भा खोज र नष्ट गर भन्ने विधि मुख्य रहनेछ भने खुला भाँडा तथा गमलामा समेत पानी जम्न नदिन र सरसफाइका विधिलाई ख्याल गर्न पनि सर्वसाधारणमा सूचित गरिएको निर्देशनालयको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *