Sajhamanch Archive

दशैँ बोनस र ऐन कार्यान्वयनको मागसहित टोकला चिया बगानका मजदुरहरु आन्दोलनमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गत झापाको मेचीनगरस्थित टोकला चिया बगानमा कार्यरत मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

बगान व्यवस्थापन पक्षले श्रम ऐन २०७४ कार्यान्वयन नगरेको,ऐनले व्यवस्था गरेको दशैं वोनस नदिएको तथा राजपत्रमा उल्लेख भए अनुसार मजदुरलाई पारिश्रमिक नदिएको भन्दै मजदुरहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

मंगलबार विभिन्न मजदुर संघ संगठनमा आवद्ध बगानमा कार्यरत मजदुरहरुले श्रम ऐन २०७४ कार्यान्वयन गर्नुपर्ने, ऐनले व्यवस्था गरे अनुसार दशैं वोनस यथाशीघ्र वितरण गर्नुपर्ने, तथा राजपत्रमा उल्लेख भए अनुसार मजदुरलाई पारिश्रमिक रकम तत्काल उपलब्ध गराउनुपर्ने माग गर्दै मजदुरहरुले प्रदर्शनसहित मुलगेटमा झण्डै २ घण्टा धर्ना दिएका छन् ।

चिया मजदुर सम्बद्ध संघ संगठनका केन्द्रीय नेतृत्वसहितको उपस्थितीमा भएको प्रदर्शनमा मजदुरहरुले श्रम ऐन २०७४ तत्काल लागु गर, न्यूनतम पारिश्रमिक रकम तत्काल उपलब्ध गर, दशै वोनस तत्काल वितरण गर, मजदुमाथि हुने जुनसुकै शोषण अन्त्य गर, चिया विकास निगम लि को व्यवस्थापन होसियारलगायतका चर्का नारावाजी गर्दै कारखानाको मुख्य द्वारमा धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा बगानका नाइके मिलन राईले आफ्ना जायज माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । उनले आफना जायज मागहरुको सम्बोधन गर्न शान्तिपूर्ण रुपमा मजदुरहरुका संघ संगठनका प्रतिनिधिहरुले बगान व्यवस्थापनपक्षसँग पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासम्म कुनै सुनुवाई नभएपछि बाँध्य भएर आन्दोलनको बाटो रोजेको प्रष्ट पारे ।

अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय सचिव तिलक दर्जीले नेपाल राजपत्र नेपाल सरकारद्वारा प्रकाशित भाग ५ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम ऐन २०७४ को दफा १०६ उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २०७५ साउन १ गतेदेखि लागू हुने गरी तोकिएको न्यूनतम पारिश्रमिक दिन समेत निगमले आलटाल गरेका कारण बाँध्य भएर सडकमा उत्रिनु परेको जानकारी दिए ।

नेपाल राजपत्र भाग ५ , २०७५ साउन ३१ गते प्रकाशित नेपाल राजपत्रमा चिया बगानमा काम गर्ने स्थायी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ६ हजार ४ सय ६९ र महंगी भत्ता ४ हजार ३ सय १२ गरी कुल १० हजार ७ सय ८१ रुपैयाँ, ज्यालादारीमा काम गर्ने मजदुरको दैनिक न्यूनतम ज्याला २ सय ३१ रुपैयाँ महंगी भत्ता १ सय ५४ गरी कुल ३ सय ८५ रुपैयाँ कायम गरेको भएपनि निगमले अहिले सम्म नदिएको मजदुर नेता दर्जीको भनाई छ । प्रतिघण्टा आधारभूत पारिश्रमिक ३१ महंगी भत्ता २० गरी एकजना मजदुरले ५१ रुपैयाँ पाउने व्यवस्था समेत राजपत्रमा उल्लेख छ । चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक ४२ रुपैयाँ भत्ता राजपत्रमा उल्लेख छ । राजपत्रमा दैनिक ३ सय ८५ ज्याला उल्लेख भएपनि आफुहरुले अहिलेसम्म २ सय ७८ रुपैयाँमा काम गर्नु परेको दर्जीको भनाई छ ।

राजपत्रमा उल्लेख भए अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम स्थानीय तह वा नेपाल कानून बमोजिम अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार प्रदान गरिएकोमा त्यस्तो तह वा निकायले पारिश्रमिक निर्धारण गर्दा यो सूचनामा तोकिएको भन्दा कम नहुने गरी निर्धारण गर्न सक्नेछन् । उल्लेखित न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कुनै रोजगार सम्झौता गर्न पाईने छैन भन्ने उल्लेख छ ।

श्रम ऐन २०७४ ले प्रत्येक मजदुरलाई दशैै खर्चका रुपमा एक महिना बराबरको रकम दिने व्यवस्था गरेपनि आफुहरुले नपाएको उनीहरुले गुनासो गरेका छन् । आफुहरुले दशैँ खर्चका लागि पटक पटक पत्रचार गरी माग गर्दा समेत बगान व्यवस्थापनपक्ष सकरात्मक नदेखिएका कारण बाँध्य भएर आन्दोलनमा होमिनु परेको मजदुर नेता दर्जीको भनाई छ । श्रम ऐन २०७४ को दफा ३७ मा व्यवस्था भए अनुसार चाडपर्व खर्च पाउने शीर्षकमा आफ्नो धर्म, संस्कृति, तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्वको रुपमा पाउने व्यवस्था छ ।

सोहि ऐनको उपदफा १ बमोजिमको चाडपर्व खर्च श्रमिकले एक आर्थिक वर्षमा एक पटक आफ्नो धर्म, संस्कृति परम्परा अनुसार मनाइने मुख्यः चाडपर्वको अवस्थामा भुक्तानी लिन रोजगारदाता समक्ष लिखित अनुरोध गर्न सक्ने भन्ने उल्लेख छ । तर, त्यस्तो अनुरोध नगरेको अवस्थामा प्रत्येक वर्षको वडादशैमा चाडपर्व खच भुक्तानी दिनुपर्ने छ भनने प्रष्टसँग लेखिएको छ । तर वगान व्यवस्थापन पक्षले मजदुरहरुलाई शोषण गरेर दशैं खर्च नदिएको मजदुरको भनाई छ ।

पहिलो चरणको यो शान्तिपूर्ण आन्दोलनबाट आफ्ना मागको वगान व्यवस्थापन पक्षबाट सुनुवाई नभए कडारुपमा आफुहरु थप आन्दोलनका कार्यक्रम लिएर सडकसम्म पुग्ने चेतावनी उनले दिएका छन् । बगानमा १ सय ९५ महिला र ६६ गरी कुल २ सय ६१ जना स्थायी मजदुर तथा अन्य मौसमी मजदुरहरु रहेका छन् । कार्यक्रममा मजदुरहरुले संक्षिप्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा आफ्ना माग पुरा गर्न बगान व्यवस्थापन पक्षलाई ५ दिनको अल्टिेमेटम दिएको छ । निर्धारीत समयसीमा भित्र माग पुरा नभए आउने ११ गतेदेखि बगानमा गरिने सम्पूर्ण काम बन्द गरी सडक आन्दोलनमा जाने र त्यसपछि सिर्जना हुने अवस्थाको सम्पूर्ण जिम्मेवार बगान व्यवस्थापन पक्षले लिनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा अखिल नेपाल चिया मजदुर संघ इकाइ समिति अध्यक्ष द्वारिका लिम्बु, नेपाल चिया बगान श्रमिक संघका इकाइ अध्यक्ष रेनुका फूयाँल तथा नेपाल कृषि तथा चिया बगान श्रमिक संघ इकाइ समिति अध्यक्ष डम्बरबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलन नेपाल कृषि तथा चिया बगान श्रमिक संघ इकाइ समिति अध्यक्ष डम्बरबहादुर खत्रीको सभापतित्व तथा समितिका झापा जिल्ला अध्यक्ष विक्रम गिरीको सञ्चालनमा भएको थियो ।