Sajhamanch Archive

बडादशैँ समापन, आज कोजाग्रत पूर्णिमा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज  महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहीआएको छ । दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।  लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दशैँ समाप्त हुन्छ । यस वर्ष तिथिको घटबढका कारण अखिल बलि पूर्ति हिजै परेको थियो ।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्ने चलन छ ।  । यस्तै सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि भगवान विष्ष्णुलाई स्मरण गर्दै आकाशदीप दान पनि शुरु हुन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घर–घरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा  आजै  बौद्ध धर्मावलम्वीले स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *