Sajhamanch Archive

सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by .

झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो सुविधा एक हजार १३५ जना शेयर सदस्यले लिएका हुन् ।

संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको खण्डमा उनीहरुलाई यस्तो सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था रहेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउँछन् । सदस्यहरुले विभिन्न रोगको उपचार गराउँदा भएको खर्चको बील भपाईको आधारमा संस्थाको नियमानुसार राहत सुविधा प्रदान गरिँदै आएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असार १४ गतेसम्ममा विभिन्न रोगबाट विरामी भई उपचारका लागि शल्यक्रिया गराउने सदस्यहरुका नाममा ४३ लाख २३ हजार रुपैयाँभन्दा बढी राहत सुविधा प्रदान गरिएको छ ।

संस्थाका आइटी सहायक विजय पाण्डेले दिएको विवरण अनुसार विभिन्न रोगबाट विरामी भई उपचार गराउने सदस्यहरुका नाममा ३३ लाख ५० हजार रुपैयाँ र प्राणघातक रोग लागेर उपचार गराइरहेका सदस्यहरुलाई १० लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।

आइटी सहायक पाण्डेका अनुसार शेयर सदस्य वा निजको परिवारका सदस्यको मृत्युमा काजकिरिया खर्चस्वरुप ३ लाख ५० हजार रुपैयाँ हाराहारी तथा ऋणि सदस्यको मृत्यु भएर वा विभिन्न कारणले ३० लाख ७२ हजार ४२५ रुपैयाँ कर्जा मिनाह पनि गरिएको छ ।

कार्यकारी प्रमुख बस्नेतका अनुसार हालसालैदेखि सिम्रिक साकोसले झापाका विभिन्न अस्पतालहरुसँग सहकार्य गरी संस्थाका सदस्यहरुको उपचार खर्चमा केही छुटको समेत ब्यवस्था गरेको छ । उनका अनुसार मनमोहन सामुदायिक अस्पताल बिर्तामोड, कनकाई हस्पिटल बिर्तामोड, ओमसाई पाथीभरा हस्पिटल भद्रपुर र दमक अस्पतालसँग सम्झौता गरी सदस्यहरुको उपचारमा छुट सुविधाको ब्यवस्था गरेको हो ।

मुलुकभर उत्पन्न आर्थिक मन्दीका बीचमा पनि सिम्रिक साकोसको वित्तीय कारोबारको ग्राफ उकालो लागिरहेको कार्यकारी प्रमुख बस्नेतको भनाई छ । संस्थाको २०८० जेष्ठ मसान्तको विवरण प्रस्तुत गर्दै बस्नेतले तरलता प्रतिशत १३ दशमलव २१ प्रतिशत रहेकोले बचत कारोबारमा समस्या नरहेको बताएका छन् ।

३१ करोड ४३ लाख ४० हजार सेयर पुँजी रहेको संस्थामा एक अर्ब ३७ करोड ५७ लाख ३५ हजार निक्षेप संकलन हुँदा १५ हजार ८७१ जना सदस्यमाझ दुई अर्ब ५१ करोड ८३ लाख ५८ हजार कर्जा लगानी गरिएको बस्नेतको भनाई छ ।

कोशी प्रदेशका झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको संस्थामा ५८ हजार ९१५ जना शेयर सदस्यहरु छन् भने ४९ वटा सेवा केन्द्रहरुमार्फत सदस्य सेवा प्रवाह गरिँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *