Sajhamanch Archive

कोशीमा एमालेको माग : अब ठूलो दलको सरकार बनाउने प्रक्रिया थाल्नु पर्छ

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, विविधा by .

विराटनगर । नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेको छ ।

शुक्रबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण उपधारा ३ अनुसार नयाँ सरकार गठनका लागि आह्वान हुनुपर्ने बताएका छन् ।

संविधानको धारा १६८ को २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ ।

सोही प्रावधान अनुसार बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेका कारण उपधारा ९३० अनुसार सरकार गठनका लागि आग्रह गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । उपधारा ३ मा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ । एमाले प्रदेशको सबैभन्दा ठूलो दल हो ।

उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान भएमा पनि सरकार गठनका लागि दाबी पेश गर्दा सभामुखलाई गणना गर्न नमिल्ने दाबी प्रदेश प्रमुखसमक्ष गरेको उनले बताए ।

‘सभामुखलाई जोडेर सरकारमा दाबी पेश गर्न मिल्दैन भनेका छौं,’ उनले भने, ‘हामीले आग्रह गर्दा प्रदेश प्रमुखज्यूले सुनिरहनुभयो ।’

कोशीमा एमाले र राप्रपाको ४६ मत छ । नेपाली कांग्रेस र नेकपा मा‌ओवादी केन्द्रको गठबन्धनसित पनि सभामुख बाहेक ४६ मत नै छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार पदमुक्त भएका थिए । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका उनले शुक्रबार मत विभाजन हुँदा बहुमत प्राप्त गर्न सकेनन् ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री पदमुक्त भएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ । सचिवालयको पत्र आएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ परामर्शमा जुटेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *