Sajhamanch Archive

खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by .

दमक । आज असार १५ अर्थात धान दिवस । यो दिवस खेतमा धान रोपाईं गर्दै दही च्यूरा खाएर देशैभर मनाइएको छ । दही र च्यूरा खाएर धान रोप्दै गरेका विद्यार्थीलाई शिक्षकले भनिरहेका छन्, ‘यो रोपिएको बोटबाट ४ महिना पछि धान फल्छ र धानबाट नै च्यूरा बनाइन्छ ।’

विद्यार्थीले व्यवहारिक शिक्षा कम पाएकाले आफ्नै अगाडि खेतमा फलेको धानबाट नै च्यूरा, चामल बन्छ भन्ने कुरा थाहा पाउन सकिरहेका छैनन् । यही विषयलाई बुझाउन र व्यवहारिक ज्ञान दिलाउन धान दिवसको अवसर पारेर विद्यार्थीलाई खेतमा ल्याइएको बताइएको छ ।

पछिल्लो पुस्ताका नानी बाबुलाई यत्ति पनि जानकारी नभएको पाएर झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कूलले आज हिलोमा धान रोप्न सिकाउन ल्याएको प्रिन्सिपल पूर्णराज गिरीले बताए । कक्षा कोठाभित्र किताब धोकाएर अध्यापन गर्ने प्रवृत्तिले विद्यार्थीमा व्यवहारिक ज्ञान कम हुदै गएको पाएर नै यस्तो अभ्यास गरिएको प्रिन्सिपल गिरीले बताए ।

आज धान दिवसमा विद्यार्थी, शिक्षक र अभिभावक सँगसँगै रहेर खेतमा धान रोप्ने सीप सिकाउने प्रयास गरिएको प्रिन्सिपल गिरीको भनाई छ । आफ्ना २० प्रतिशत विद्यार्थीलाई पनि धानबाट च्यूरा बन्छ भन्ने जानकारी नरहेको पाए पछि विद्यालयले यो अभ्यास गरेको उनको भनाई छ ।

परम्परागत ज्ञान र सीप सिकाउने उद्देश्यले हरेक वर्ष विद्यार्थीलाई यसरी खेतमा नै लगेर सिकाउने गरिएको शिक्षक लीला भट्टराईले बताइन् ।

असारमा मात्र होइन विद्यालयले स्थानीय जातजातिका विभिन्न पर्वहरुको विषयमा जानकारी दिन सो समुदायको बस्तीमा नै गएर चाडवाड र खानेकुराको विषयमा अध्ययन गराउने गरिएको जनाइएको छ । झापामा बसोबास गर्ने राजवंशी, ताजपुरिया समुदायले वैशाखमा अर्थात नयाँ वर्षको अवसरमा मनाउने सिरुवा पर्वको विषयमा पनि जानकारी गराइएको अर्का शिक्षक दुर्गा उप्रेतीले बताइन् ।

सो विद्यालयको कक्षा ९ मा अध्ययनरत रोशन ढकालले राष्ट्रिय धान दिवस भनेको के हो ? यो किन मनाइन्छ भन्ने विषयमा आज प्रष्ट जानकारी पाएको बताए । यसबाट धानखेती कुन मौषममा कसरी गरिन्छ भन्ने कुरा अब आफूलाई प्रष्ट भएको उनले बताए ।

विद्यालयले प्रदान गरेको यो व्यवाहारिक सिकाइले आफूलाई कुरा बुझ्न सहज भएको कक्षा ९ मा अध्ययनरत सौरभी लावतीले बताइन् । हाम्रो विद्यालयका धेरै विद्यार्थीले आजदेखि खेतमा फलेको धानबाट चामल, च्यूरा, मुरै भुजा लगायतका खाद्य बस्तुहरु बन्ने कुरा सिकेको बताइन् । कक्षा कोठाभित्र किताबमा घोकेको भन्दा यसरी खेतमा आएर सिक्न पाउँदा धेरै सहज भएको विद्यार्थीहरुको भनाई छ ।

यही धान यो देशको मुख्य खाद्य बाली हो । तर पछिल्लो समय मानिसको जीवनमा भएको परिवर्तनले गर्दा कृषि पेशाबाट पयालन हुँदै गएकाले विद्यालय तहबाट नै व्यवहारिक शिक्षा दिन आवश्यक रहेको कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सूर्य न्यौंपानेले बताए ।

स्मारिका सामुदायिक बोर्डिङ स्कूलले आयोजना गरेको धान दिवस कार्यक्रममा कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लालबहादुर बिष्ट, वडा नं. ३ का वडाध्यक्ष अग्नि कोइराला, गाउँपालिका शिक्षा शाखाका प्रमुख न्यौपानेलगायतले सामुहिक रुपमा धान रोपेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *