Sajhamanch Archive

एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ ।

संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा, विगतमा भोगेका अनुभवहरु र यसबाट आगामी वर्षका लागि खेल्नुपर्ने भूमिका र रचनात्मक कार्यक्रमहरुमाथि छलफल गरिएको हो ।

संस्था सञ्चालक समितिका वरिष्ठ उपााध्यक्ष नारायणप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित विस्तारित बैठकमा आन्तरिक कार्यविधिहरुमाथि संशोधन एवम् परिमार्जनका सन्दर्भमा कानून तथा अनुपालन विभाग प्रमुख तेजकुमारी घिमिरेले विषयगत प्रस्तुति राखेकी थिइन् ।

उनले संस्थामा हाल ६६ वटा कार्यविधिहरु कार्यान्वयनमा रहेकाले समान प्रकृतिका कतिपय कार्यविधिहरु एकीकरण गर्ने र कतिपयमा महत्वपूर्ण संशोधनको प्रस्ताव गरेकी थिइन् । संस्थाका सदस्यहरुले पाउने सुविधामा लचिलो नीति बनाउन प्रस्ताव गरिएको छ भने निक्षेप र कर्जाको ब्याजमा समयानुकूल परिमार्जन गर्दै सदस्यलाई बैंकमा जानुपर्ने आवश्यकताको अन्त्य गर्ने योजना बनाइएको छ ।

सो विस्तारित बैठकमा कर्पोरेट लेखा तथा वित्त विभाग प्रमुख सूर्यप्रसाद भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित बजेट सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्तसम्मको वित्तीय कारोबारको झलक प्रस्तुत गरेका थिए । चालू वर्षमा भइरहेको आर्थिक मन्दी र तरलता अभावका बीचमा पनि एनएमसीले आफ्ना सदस्यहरुलाई निक्षेप फिर्ता माग्दा, सेयर फिर्ता माग्दा वा कर्जा माग्दा सहजै भुक्तानी गरिरहेको प्रष्ट पारेका थिए ।

‘वित्तीय सूचांकमा कारोबारको ग्राफ सामान्य वृद्धि नै भएको छ तर लक्षित उपलब्धी हासिल गर्न सफल भएका छैनौं’ कर्पोरेट लेखा तथा वित्त विभाग प्रमुख भट्टराईको भनाई छ । हाल संस्थामा कर्जा कारोबारीको संख्या १८ हजार हाराहारी मात्र रहेकाले आगामी आर्थिक वर्षमा सय प्रतिशत वृद्धि गरी ३५ हजार जनाभन्दा वृद्धि गर्ने योजना पनि सो बैठकमा प्रस्तुत गरिएको थियो ।

उक्त प्रस्तुतिहरु पछि बैठकमा सहभागीबाट कार्यविधिमा संशोधन वा परिमार्जनका लागि र बजेटको पूर्ण कार्यान्वयनका लागि गर्नुपर्ने कामका बारेमा जिज्ञासा, टिप्पणी र सुझावहरु प्रस्तुत गरिएको थियो । उक्त जिज्ञासा र सुझावहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र सञ्चालक समिति सदस्य ठाकुरप्रसाद सिवाकोटीले सहजीकरण गर्दै मिलेसम्मका विषयहरु कार्यविधिमा समावेश गराउने धारणा राखेका थिए ।

सो विस्तारित बैठकमा संस्थाका पाँच वटै व्यवसायको वर्तमान अवस्थाबारे अवगत गराउँदै आगामी वर्षका लागि तय गरिएको बजेट एवम् कार्ययोजनाहरु प्रस्तुत गरिएको थियो ।

एनएमसी चिया ब्यवसायको तर्फबाट ब्यवसाय प्रमुख रविन्द्र पाण्डे, एनएमसी सहकारी पसलको तर्फबाट उपसमिति संयोजक सूर्यप्रसाद मैनाली र एनएमसी एकीकृत नमूना कृषि फर्मको तर्फबाट उपसमिति सदस्य खिलेश्वरी पाण्डेले आफू आवद्ध ब्यवसायका बारेमा जानकारी गराएका थिए ।

यस्तै एनएमसी डेरीको तर्फबाट उपसमिति सदस्य नारायणबहादुर बस्नेत र बचत तथा ऋण ब्यवसायको तर्फबाट उपसमिति सदस्य राजु उप्रेतीले वर्तमान अवस्था र भावी लक्ष्यका बारेमा प्रकाश पारेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सो कार्यक्रममा आमन्त्रितहरुलाई संस्थाका उपाध्यक्ष भगवती घिमिरेले शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्य प्रष्ट्याएकी थिइन् ।

विस्तारित बैठकमा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक विषणुप्रसाद गौतमले संस्थाको वर्तमान अवस्था र समग्र सहकारी क्षेत्रको अवस्था दृष्टिगत गर्दा एनएमसीको यात्रा सकारात्मक दिशामा नै रहेको औंल्याएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *