Sajhamanch Archive

भद्रपुर नगरपालिकामा सार्वजनिक सुनवाइः अपेक्षा अनुसार काम नभएको सेवाग्राहीको गुनासो

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by .

भद्रपुर । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका कार्यहरूको गुणस्तर तथा पारदर्शिता माथि नगरबासीले प्रश्न उठाएका हुन् ।

सार्वजनिक सुनवाईमा सहभागीले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन कमसल हुँदा पनि स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोे, अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला (जीपी) सभागृह निर्माण कार्य पूरा गर्न नगरपालिकाले कुनै पहल नगरेको, दशक यता भद्रपुर शीत भण्डार अलपत्र अवस्थामा रहँदा पनि कुनै चासो नदेखाएकोमा सहभागीले आक्रोस पोखेका थिए ।

सार्वजनिक सुनवाईका क्रममा अधिकांश नगरबासीले नगरपालिकाले निर्माण गरेका सडकहरूको गुणस्तरमा पनि प्रश्न गर्दै अदक्ष प्राविधिक भएको आरोप लगाएका थिए ।

नगरबासीका प्रश्नको उत्तर दिँदै नगरप्रमुख गणेश पोखरेलले अलपत्र शित भण्डारलाई सञ्चालन गर्न एक महिनापछि दक्ष प्राविधिक ल्याएर स्थलगत अध्ययन गरी निचोड निकालिने जवाफ दिए ।

नगर प्रमुख पोखरेलले मेची प्रादेशिक अस्पतालको नयाँ भवनको गुणस्तर सुधार नभई सञ्चालन नगरिने विश्वास दिलाउँदै समस्या समाधान नभएमा ठेकेदारलाई कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस पठाउने प्रष्ट पारे ।

नगरप्रमुख पोखरेलले गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण कार्य अगाडि बढाउन संघीय सरकारसँग पहल भइरहेको स्पष्ट पार्दै जनमैत्री नगर प्रशासन बनाउन प्रतिबद्ध भएर लाग्नेसमेत आश्वासन दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *