Sajhamanch Archive

केरखामा सम्पन्न गरियो रोजगार मेला

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकामा असार १६ गते एक दिवसीय वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न गरिएको छ ।

नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना कार्यान्वयनका लागि उक्त मेला सञ्चालन गरिएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच समन्वयकारी भूमिका निर्वाहमा मद्धत गर्ने उद्देश्यले मेला सञ्चालन गरिएको जनाइएको छ ।

कमल गाउँपालिकाको आयोजना र कमल उद्योग वाणिज्य संघसँगको सहकार्यमा शनिबार मेला सम्पन्न भएको हो । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा केर्खा खैल मैदानमा सञ्चालन भएको मेलाको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका थिए ।

मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरालले यस्ता मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई समन्वय गराउन ठूलो मद्धत पुग्ने अपेक्षा सुनाए । अहिलेको समयमा सीप नभएको व्यक्ति बेरोजगार बस्नुपर्छ । सीप र प्रविधिसँग जोडिएको व्यक्ति बेरोजगार बस्नु पर्दैन भन्दै जिसस प्रमुख बरालले सीप नभएको व्यक्ति देश तथा विदेशमा समेत बेरोजगार रहने भएकाले यो कार्यक्रमले कमल गाउँपालिकाका युवालाई सीपसहितको रोजगारीमा जोड्न सहयोग पुग्ने अपेक्षा राखेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यो कार्यक्रम मार्फत आफ्नो गाउँपालिकाका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई समन्वय गराई रोजगारीको अवसर प्रदान गर्नेतर्फ उन्मुख हुनेमा विश्वास व्यक्त गरे ।

मेलामा कमल गाउँपालिका लगायत छिमेकी पालिकाका रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहको थियो ।

कार्यक्रम कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए । सो कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई शाब्दिक स्वगत गर्दै कार्यक्रमको उद्देश्य माथि कार्यक्रम संयोजक उमानाथ भण्डारीले प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *