Sajhamanch Archive

मेचीनगरमा सोमबार बिहानै जङ्गली हात्तीको ताण्डवः एक वृद्धाको मृत्यु, एक महिला घाइते

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह जंगली हात्तीको आक्रमणबाट मारिएकी छन् । आज बिहान जङ्गली हात्तीको आक्रमणबाट पन्नादेवीको ज्यान गएको हो भने अर्की एक महिला पनि घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मृतक साह भारत सिलिगुडी घर भई एक वर्षदेखि मेचीनगर १० मा छोरी ज्वाइँ बैजनाथ साहसँगै बस्दै आएकी थिइन् ।

आज बिहान सवा ५ बजेतिर वृद्धा साह घरबाहिर निस्केर पूजाका लागि फूल टिपिरहेको बेलामा मागुरमाडी जङ्गलबाट निस्केको हात्तीले उनीलाई आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहको शवको प्रकृतिक मुचुल्का पूरा गरी पोस्टमार्टमको लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, हात्तीको आक्रमणबाट बुद्वशान्ति गाउँपालिका वडा नं. ५ मा पर्ने धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भएकी छन् । उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा ल्याइएको छ ।

साहलाई आक्रमण गर्ने सोही जंगली हात्ती आक्रामक भई उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको जानकारी पाएको प्रहरीले जनाएको छ।

मेचीनगर– ९ बस्ने हेमन्त प्रसाईंको बुद्धशान्ति–५ स्थित चिया बगानमा काम गर्न जाने क्रममा धिमाललाई बाटोमै जङ्गली हात्तीले सुँडले हानी घाइते बनाएको हो । घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *