Sajhamanch Archive

कोशी प्रदेशका डेरी व्यवसायीहरु एकापसमा अस्वस्थ प्रतिपर्धा नगर्न सहमत

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by .

झापा । कोशी प्रदेशका डेरी उद्योग तथा दुग्ध व्यवसायी कम्पनीहरुको आज मेचीनगरमा भएको बैठकले चार बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ ।

डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा एनएमसी डेरी उद्योग इटाभट्टामा सम्पन्न बैठकले किसानले उत्पादन गरेको दूध खरिद नगर्ने तथा मिल्क होलिडे हुन नदिने विषयमा सचेत रहने निर्णय गरेको हो । मिल्क होलिडे गर्ने बाध्यता नआओस् भनेर चिस्यान केन्द्रहरुलाई दिइँदै आएको सुविधा स्थगित गर्न सबै उद्योगहरु सहमत भएको जनाइएको छ ।

वर्तमान अवस्थामा दूधको पर्याप्त उत्पादन हुनु, बजारमा दूध तथा दुग्धजन्य उत्पादनको मागमा कमी आउनु, उद्योगहरुमा धुलो दूध र बटरहरुको स्टक बढी भइरहेकोले उद्योगहरुले किसानको सबै दूध किन्न सकस परिरहेको निश्कर्ष निकाल्दै उत्पादित बटरको स्वदेशी तथा विदेशी बजारको खोजी गर्न सहमत रहेको निर्णयमा उल्लेख छ ।

सो बैठकमा एनएमसी डेरी उद्योग, रितिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इन्डस्ट्रीज प्रालि, गोरस डेरी प्रालि र पूर्व नेपाल डेरीबाट प्रतिनिधित्व रहेको थियो । उक्त बैठकमा कामधेनु दुग्ध विकास सहकारी संस्था, शिवम् डेरी एण्ड फुड इन्डस्ट्रीज, मदानी मिल्क हाउस र जीवन विकास डेरीबाट सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

बैठकले सबै उद्यागीहरुलाई थप ब्यवसायी बन्ने निर्णय गर्दै आपसमा अस्वस्थ प्रतिपर्धा नगर्ने पनि सहमति गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *