Sajhamanch Archive

मेनुकाको यात्राः ‘नेपाल आइडल’ देखि ‘सारेगमप’सम्म

Published: (Updated: ) in शिक्षा by .

काठमाडौं । नेपालमा दुईवटा सिंगिङ रियालिटी शो ‘नेपाल आइडल’ र ‘दि भ्वाइस अफ नेपाल’ चलिरहेका बेला भारतमा नेपाली कलाको प्रशंसा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सांगीतिक समूहकी गायिका सरस्वती खत्रीको स्वरको प्रशंसा गरे ।मोदीले खत्रीको आवाजलाई सुमधुर भन्दै उनको आवाज सुन्दा आफ्नो नेपाल भ्रमणको स्मृति ताजा भएको समेत बताए ।

मोदीले सोमबार नेपालीमै ट्वीट गर्दै खत्रीको प्रशंसा गरेका थिए । “गान्धीजीको प्रिय भजन ‘वैष्णव जन’ नेपालको सुरसुधा सांगीतिक समूहकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो नेपाल भ्रमणको स्मृतिहरु ताजा भएको छ,’ भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमा भनेका थिए, “पीर पराई जाने रे भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ ।”

गायिका खत्रीको स्वरमा रेकर्ड गरिएको महात्मा गान्धीको प्रिय भजन ‘वैष्णव जन ते तेने कहिए…’ युट्युबमा सुनेपछि भारतीय प्रधानमन्त्री मोदीले सोमबार ट्विट गरेका थिए ।

त्यसअघि शनिबार नेपाली गायिका मेनुका पौडेलको स्वरको भारतीय संगीत उद्योगका हस्तीहरुले प्रशंसा मात्रै गरेनन्, आफूहरु नतमस्तक भएको पनि बताए । संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको स्वरको मुक्त कण्ठले प्रशंसा गरे । भारतीय सांगीतिक रियालिटी शो ‘सारेगामप’का निर्णायक रबजानी, मोहपत्रा र खानले मेनुकाको स्वरको प्रशंसा मात्रै गरेनन् उनको स्वरको जज गर्ने हैंसियत नभएको पनि बताए ।

मेनुकाले लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है…’ बोलको गीत गाएकी थिइन् । उनले गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरले आँशु मात्रै झारेनन् जज तथा उपस्थित सबैले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।

नेपालमा पहिलोपटक अडिसन लिएको गायन रियालिटी शो ‘सारेगमप’ मा मेनुका अडिसन राउन्डबाट छनोट भइन् । उक्त रियालिटी शो जी टिभीबाट प्रसारण हुँदै आएको छ ।

जजको रुपमा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे । शेखरले भने, “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन ।”
मेनुका ‘नेपाल आइडल’ सिजन वनको उत्कृष्ट एघारबाट बाहिरिएकी थिइन् । दर्शकको भोटका आधारमा उनी बाहिरिनु परेको थियो ।

उनले ‘नेपाल आइडल’को मञ्चलाई छोड्दै गर्दा भनेकी थिइन्,–“म्युजिक भनेको मानिसको आँखाले देख्ने चिज होइन, यसलाई मस्तिष्क र मनबाटै लिनुपर्छ ।”

उनी सेतो छडीको सहारामा नेपाल आइडलको मञ्चमा आइपुगेकी थिइन् । त्यही सेतै छडीकै सहारामा उनी ‘नेपाल आइडल’बाट विदा भएपछि घर पुगिन् । उनले कार्यक्रमको एउटा श्रृखंलामा भनेकी थिइन्, “जती जनाले मलाई भोट गर्नुभयो, धन्यवाद तर मलाई भोट आएको छैन भने पनि म यो स्टेजबाट हाँसी हाँसी जान्छु ।

नभन्दै उत्कृष्ट एघारमा आइपुग्दा उनलाई प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट आयो । उनले आफूलाई चिनाउने ‘नेपाल आइडल’को मञ्चलाई छोड्नै पर्ने भयो । उनले ‘तिम्रो जस्तो मुटु मेरो पनि…’ बोलको गीत गाएर नेपाल आइडलबाट विदा भइन् । त्यो क्षण उनका प्रतिस्पर्धी साथी र जजहरुका आँखा रसाएको प्रस्टै देखिन्थ्यो ।  तर, उनमा त्यो पीडा कमै देखिएको थियो । सायद संगीतमा प्यासन भएकाहरु हार्न जान्दैनन्, जवरजस्त हुन्छन् । छोड्दै छोड्दैनन् ।

उनले हिम्मत हारिनन् । संगीतका सुरहरुसँग आफूलाई मिसाइरहिन् । भारतीय सिंगिङ रियालिटी शो मध्येकै प्रतिष्ठित मानिने ‘सारेगमप’ मा उनी जाने तयारी थालिन् । कोलकाता अथवा मुम्बईबाट अडिसन दिने मेनुकाले तयारी गरिरेका बेला पहिलो पटक अडिसन नेपालबाटै दिन पाइने भएपछि उनलाई थप सहज भयो । उनले प्रि–अडिसनका लागि भिडियो पठाइन् । लेवल वनको अडिसनमा उनी छनोट भएपछि लेवल टुको अडिसन लिन ‘सारेगमप’ काठमाडौं नै आयो । काठमाडौं अडिसन पनि पार गरेपछि मेनुकालाई ‘सारेगमप’ले लेवल थ्रिको अडिसनका लागि कोलकाता बोलायो । त्यो अडिसनले पनि ग्रिन कार्ड दिएपछि उनलाई अन्ततः दर्शकले जी टिभीमा हेर्न पाए । मेनुकाले हिन्दी गीत गाएर संगीतको कुनै भाषा र भूगोल हुँदैन भन्ने कुरालाई फेरि एकपटक चरितार्थ गरिन् । जुन कुरा ‘सारेगमप’ का निर्णायकले पनि उनको स्वर सुनेपछि प्रशंसा गर्दै भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *