Sajhamanch Archive

‘जंगली हात्ती पनि विचरण गरोस्, वडाबासी पनि नमरुन्’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , , by .

वि.सं. २०३४ सालबाट राजनीतिमा सक्रिय गंगाप्रसाद भट्टराई बिर्तामोड नगरपालिका वाड नं. ७ का अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नन्दु उप्रेतीलाई ३९७ मतले पछि पार्दै नेकपा एमालेबाट उनी विजयी भएका हुन् । उनै वडाध्यक्ष भट्टराईसँग एक वर्षसम्म गरेको कामहरु र अबको बाँकी चार वर्षका लागि बनाएको योजनाबारे साझामञ्चका लागि सञ्जु शिवाकोटीले गरेको कुराकानी ।

निर्वाचित हुनु भएको एक वर्ष बितेको छ । अहिलेसम्म के कस्ता कामहरु गर्नु भयो ?

मेरो बसोबास रहेको र निर्वाचित भएको वडामा धेरै कामको शुरुवात गरिएको छ । भौतिक निर्माणका ठूला कामहरु सुरुमात्र भएका छन् तर सम्पन्न भएका छैनन् । विकासको पहिलो पूर्वाधार सडक रहेछ, त्यही कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ । हाम्रो वडामा खानेपानी ट्यांकी बनेको १२–१३ वर्ष भएको थियो, त्यो खानेपानी आयोजना सञ्चालनको प्रक्रियामा छौं । धारा जोड्ने काम भइरहेको छ । सामान्य पूलहरु बनेका छन्, बाटो मर्मत गर्ने काम भइरहेको छ ।

निर्वाचन घोषणापत्रमा उल्लेख गरिएका कार्यहरु कतिमात्रामा पूरा भएजस्तो लाग्छ ?

घोषणापत्रमा धेरै कुराहरु थिए, ती कुराहरु त ओझेलमा परेजस्तो लाग्छ मलाई । किनभने घोषणापत्रमा गरिवी न्यूनीकरणका कुराहरु थिए । यो मुलुकलाई नयाँ नेपालको दिशातिर लैजाने कुराहरु थिए । अब त्यो नयाँ अवस्था कसरी सिर्जना गर्नु ? त्यो कुरा पार्टीबाट निर्देशन आएको छैन । पहिले जे शैली थियो, त्यही शैलीमा काम भएको आवस्था छ । घोषणापत्रमा धेरै कुरा थिए ती कुराले पूर्णता पाएजस्तो लाग्दैन । तर यति छोटो समयमा यी कामहरु भएकै हुन्, बिस्तारै सबै काम हुन्छ ।

आर्थिक वर्ष २०७५/०७६ के कस्ता कार्ययोजना बनाउनु भएको छ ?

अब अहिले हाम्रो मूल लक्ष्य एक वर्ष भित्र जे जति काम भए त्यसलाई पूर्णता दिनुलाई पहिलो प्राथमिकतामा पारेको छौं । दोस्रो खानेपानी वितरणलाई व्यवस्थित बनाउने कुरालाई हामीले योजना अगाडि बढाएका छौं । तेस्रोमा गाउँमा सबैलाई विद्युत आपूर्तिको पूर्णता होस् भन्ने छ ।

पाँच वर्षे कार्यकालमा घोषणापत्रमा उल्लेख गरिएका कार्यहरु पूरा होलान् त ?

सही व्यवस्थापन गरेको खण्डमा घोषणापत्रमा उल्लेखित कुराहरु पूरा हुन सक्छन् । हिजो यो मुलुकमा सबै नागरिकलाई रोजगारी दिने भन्ने कुरा भएको थियो । त्यो रोजगारीको अवसर सिर्जना गरेको देखिँदैन, कि कतै सुरुवता भयो कि मैले थाहा पाएको छैन । हाम्रो नगरले बिषादीरहित खाद्य बस्तु उत्पादन गर्ने, साग सब्जी उत्पादन गर्ने भन्ने कुरा घोषणापत्रमा उल्लेख थियो, जसमा नगरपालिकाले पनि लगानी गरेको छ । त्यसको प्रतिफल अहिले नै प्राप्त हुने कुरा भएको छैन । यसैले घोषणापत्रमा भनिएका सबै गर्न नसकेपनि तुलनात्मकरुपमा धेरै गर्छौं भन्ने विश्वास छ ।

प्रतिपक्षी दलबाट सोचेजस्तो साथ र सहयोग पाउनु भएको छ कि ! विरोधमात्रै ?

अहिले त राम्रो छ । प्रतिपक्षीको भूमिकामा नेपाली कांग्रेस छ । नेपाली कांग्रेसका साथीहरुले पनि साथ दिनु भएको छ । सबैले राम्रो साथ दिनु भएको छ, विरोधको सामना गर्नुपरेको छैन । हामीले पनि सत्तापक्ष र प्रतिपक्ष भनेर काममा र अवसरमा भेदभाव गर्ने गरेका छैनौं । यसैले सहयोग नै भइरहेको आभाष हुन्छ ।

सुन्दर निचाझोडा सामुदायिक वन तपाइँको वडामा पर्छ । सो वनक्षेत्रमा पहिले भुटानी शरणार्थीको समेत बसोबास रहेकाले पर्यटकीय क्षेत्र बनाउने चर्चा गरिएको थियो । त्यसका लागि केही काम अगाडि बढ्यो कि चुनावी नारामात्रै थियो त्यो ?

जनप्रतिनिधि बन्नु अगाडिदेखि नै सुन्दर निचाझोडामा मैले काम गर्दै आएको थिएँ । अहिले साथीहरु हुनुहुन्छ, उहाँहरुले पनि निश्वार्थ ढंगले काम गरिरहनु भएको छ । भोलिका दिनमा बिर्तामोडमा जनघनत्वको चाप बढ्छ, फोहोर मैलाले श्वासफेर्न पनि गाह्रो हुने अवस्था हाम्रो बिर्तामोड नगरको हुने भएकाले त्यसलाई पर्यटनस्थल घोषणा गरेर बिर्तामोडबासीलाई स्वस्थ हावा खुवाउने उद्देश्यले काम भइरहेको छ । जलाशय बनाउने, बोटानिकल गार्डेन बनाउने, चिल्ड्रेन पार्क निर्माणलगायत धेरै कुराहरु भइरहेका छन् । वन्यजन्तुलाई संरक्षण गर्ने कुराहरु प्रसस्तै भइरहेको छ, सञ्चालन गर्ने कुरामा अहिले पूर्णता पाइसकेको छैन । वनजंगल त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने वन व्यवस्थापन समितिले आफ्नै शैलीले काम गरिरहेको छ ।

जंगली हात्ती आतंकले तपाइँको वडाबासीलाई निकै दुःख दिइरहेको छ । जनतालाई संरक्षण गर्ने  विषयमा के योजना बनाउनु भएको छ ?

हो, हाम्रो वडामा जंगली हात्ती आतंक छ । यसलाई नियन्त्रण गर्न सरकारबाट नै तयारी हुन आवश्यक छ । आम किसानले हत्तीलाई रोक्ने, छेक्ने अवस्था पनि त भएन ! हात्ती हिंड्ने, डुल्ने, घुमफिर गर्ने वातावरणको अवस्था सिर्जना गर्ने र बस्तीलाई जोगाउन सरकारी तवरबाट नै ठूलो धनराशी खर्च गरेर तारबेराको कुरा भइरहेको छ । त्यो कति सफल हुन्छ या हँुदैन अहिले यसै भन्न सकिँदैन । तर पनि सोच के हो भने हात्तीले पनि दुखः नदेओस्, हात्तीले पनि प्रशस्त घुम्न पाओस्, भन्ने उद्देश्य यहाँका जनताको सोच हो ।

भोट हालेर यहाँसम्म ल्याउने जनतालाई केही भन्नु छ कि ?

जनताले जिताएर यहाँसम्म ल्याउनु भयो । उहाँहरुले अपेक्षा गरे अनुसारको काम गर्न पाउँ । उहाँहरुलाई सन्तुष्टि दिन पाइयोस । सारा कुरामा आफूले लगानी गर्न सकियोस् । सबै नगरबासीलाई खुसी राख्न सकुँ । साझामञ्चबाट आम मतदाता, शुभेच्छुक शुभचिन्तक सबैलाई यही अनुरोध गर्दछु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *