Sajhamanch Archive

विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन कानुन आयोगद्वारा सरकारको ध्यानाकर्षण

Published: in राष्ट्रिय समाचार by .

काठमाडाैं ।  नेपाल कानुन आयोगले विद्यमान ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले विद्यमान ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।

शुक्रबार राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ऐन कार्यान्वयन मापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले बाझिएका कानुनी प्रावधान खारेज गर्न पनि ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । अध्यक्ष पौडेलले विद्यमान ऐनमा देखिएका दोहोरोपना नहटे जनताको न्याय पाउने अधिकारलाई बलियो बनाउन नसकिने पनि स्मरण गराउनु भयो ।

अध्यक्ष पौडेलले सामान्य उद्योग स्थानीय तहमै दर्ता हुने गरी ऐन बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले जनजीवनसँग सम्बन्धित ऐनलाई प्राथमिकतामा राखेर यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । त्यसैगरी उहाँले नयाँ मुलुकी ऐनलाई जनताको जीवनसँग जोड्न त्यसमा देखिएका जटिलता हटाउन पनि ढिलाई गर्न नहुने पनि स्मरण गराउनु भयो ।

राष्ट्रिय जनता पार्टी, नेपालका राष्ट्रियसभाका सांसद वृशेषचन्द्र लालले न्यायमा सहजता ल्याउने गरी विद्यमान ऐन कार्यान्वयन मापन विधि तय गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले ऐनले जनताको न्याय पाउने अधिकारलाई कतैबाट पनि अवरोध गर्न नहुनेमा पनि जोड दिनु भयो ।

ऐन, कानुन कार्यान्वयनको मापन गर्ने जिम्मेवारी पाएको विधायन व्यवस्थापन समितिले मौजुदा ऐन, कानुन कार्यान्वयनको मापन विधि र प्रक्रियाका विषयमा छलफल गर्न मंसीर पहिलो साता राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने तयारी पनि गरेको छ ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *