Sajhamanch Archive

चिया बगानमा छैनन् व्यवस्थित शौचालय !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by .

मेचीनगरका चिया बगान र मजदूर खुल्ला दिसामुक्तका मुख्य चुनौती

मेचीनगर । मेचीनगर नगरपालिकाभित्रका चिया कमान र त्यहाँ कार्यरत मजदूरका क्वाटरमा व्यवस्थित शौचालय न हुनु नै नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाका लागि मुख्य चुनौती बनेको दावी गरिएको छ ।

झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या तथा भूगोलका हिसाबले ठूलो मेचीनगर नगरपालिकाका १५ वटा वडामध्ये ७ वटा वडा खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् ।

‘विशेष गरी नगरका धेरैवटा वडामा चिया बगानले ओगटेको क्षेत्र रहेको र त्यहाँ काम गर्ने मजदूरको संख्या पनि ठूलै छ’ मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले भनिन् ‘प्रायः कुनै पनि बगानका मजदूर बस्ने क्वाटरमा व्यवस्थित शौचालय नभएकाले नगरपालिकालाई खल्ुला दिसामुक्त घोषणा गर्न बाधा पुगिरहेको छ ।’

उपप्रमुख उप्रेतीका अनुसार नगरका १, ३, ४, ११, १२, १३, १४ र १५ नम्बर वडामात्र खुला दिसामुक्त वडा घोषणा भएका छन् । २ नम्बर वडा तत्काल घोषणाको तयारीमा रहेको नगरपालिकाले जनाएको छ ।

एक हजार १०० घरधुरी भएको वडा नम्बर ४ मा शतप्रतिशत स्थानीयले चर्पी प्रयोग गर्न थालेको वडाध्यक्ष नवीन बरालले बताएका छन् । एक हजार ४५६ घरधुरी भएको १ नम्बर वडामा समेत शतप्रतिशत स्थानीयले चर्पी प्रयोग गर्न थाले पछि सो वडा खुला दिसामुक्त घोषणा भएको वडाध्यक्ष पासाङ्ग तामाङले जानकारी दिए ।

मेचीनगर नगरपालिकालाई खुला दिसामुक्त घोषणाका लागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापा, सहारा नेपाल, विराट सामुदायिक अध्ययन केन्द्रलगायतका गैर सरकारी संस्थासमेत जुटेका छन् ।

तर चिया बगानमा कार्यरत श्रमिककै कारण धेरै समस्या बनेको नगरपालिकाको बुझाई छ । नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा सघाउ पुर्याउन सार्वजनिक सूचना जारी गर्दै शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सबै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने उर्दी यस अघि नै जारी गरेको थियो ।

तर अधिकांशले शौचालय बनाए पनि बगान क्षेत्रमा कार्यरत मजदूरहरुका लागि बगान व्यवस्थापन पक्षले नबनाई दिएको नगरपालिकाको भनाई छ ।

नगरपालिकाको वडा नम्बर ५, ७ र ८ को क्षेत्र अत्याधिक चिया बगान क्षेत्र हो । टोकला तथा सतिघट्टालगायतका चिया कमान यस नगरभित्र रहेका छन् । त्यहाँ काम गर्र्ने सयौं मजदूरहरु व्यवस्थित शौचालय विहीन छन् । बगानले दिएको क्वाटरमा बस्ने भएकाले कसैकोमा पनि शौचालय नभएको बताइएको छ ।

बगान व्यवस्थापन पक्षसँग शौचालय निर्माणका लागि नगरपालिकाले पटक पटक आग्रह गर्दासमेत अटेर गर्ने गरेको छ । ‘हामीले टोकला बगान व्यवस्थापनपक्षसँग मजदूरलाई शौचालय बनाई दिन पटक पटक आग्रह गरेका छौ’ वडानम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले भने ‘तर बगान व्यवस्थापन सुन्ने पक्षमा छैन, मजदूरहरु आफैं रकम खर्च गरेर शौचालय बनाउने अवस्थामा छैनन् ।’

मेचीनगर नगरपालिकाले शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सबै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने उद्घोष गरे अनुसार बगानले पाउने सेवासमेत रोकेको बताइएको छ । सरकारी सेवा सुविधा रोक्दै जेठ मसान्तभित्र प्रत्येकलाई घरघरमा शौचालय बनाउन नगरपालिकाले उर्दी गरेको थियो ।

‘नगरपालिकाले जेठ मसान्तभित्र अनिवार्य शौचालय बनाउन नगरबासीलाई अनुरोध गरेको थियो’ उपप्रमुख उप्रेतीले भनिन् ‘ यदि तोकिएको समयावधि भित्र शौचालय निर्माण नगरेमा वडा तथा नगरबाट दिने नाता प्रमाणित, जग्गाको चार किल्ला प्रमाणित, नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह, बसाईं सराईलगायतका सबै सिफारिससहित सामाजिक सुरक्षा भत्ता समेत रोक्का गर्ने भनिएको छ । तर त्यसलाई अटेर गरिँदै आएको पाइएको छ ।’

उपप्रमुख उप्रेतीका अनुसार कात्तिक मसान्तभित्र वा मंसीरको पहिलो सातासम्म नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी छ । सो उद्देश्य पूरा गर्न सम्बन्धित वडाध्यक्षहरुको परामर्शमा शौचालय बनाउन नसक्ने आर्थिकरुपमा विपन्न परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

उपप्रमुख उप्रेतीले खुल्ला दिसामुक्त घोषणा हुन बाँकी वडालाई खुल्ला दिसामुक्त बनाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । नगरलाई खल्ला दिसामुक्त नगर बनाउन सक्रियरुपमा लाग्न यहाँका जनप्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, शिक्षकलगायत सबैमा उनले आग्रहसमेत गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *