Sajhamanch Archive

दशैँ अवधिमा झापामा सवारी दूर्घटनामा कमी

Published: in राष्ट्रिय समाचार, समाज, by .

झापा । यस वर्ष ट्राफिक प्रहरीको सक्रियता तथा जनचेतनामा अभिवृद्धि भएका कारण दशैँ पर्वको समयमा गत वर्षको तुलनामा सवारी दूर्घटनामा कमी आएको छ । यद्यपी, दशैँको अवधिमा मापसेलगायत सवारी कारवाहीबाट १२ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा जाँच कसिलो पारेकाले दूर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिएका हुन् ।

यो वर्ष दशैँ अवधिमा झापामा सवारी दूर्घटनाबाट २ जनाले ज्यान गुमाएका छन् । बुधबारसम्म जिल्लामा ७ वटा सवारी दूर्घटना भएका ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार ६ वटा मोटरसाइकल र एउटा ट्याम्पो दुर्घटना भएको हो ।

गतवर्ष दशैँ अवधिमा झापामा १० वटा सवारी दूर्घटनामा परेर ६ जनाले ज्यान गुमाएका थिए ।

असोज ३० गते फूलपातीका दिन मेची राजमार्ग सडकखण्ड अन्तर्गत चारआलीबाट इलाम जाने क्रममा बुद्वशान्ति ३ वर्ने छेउमा मे २ प ३५०५ नम्बरको मोटरसाइकलले साइकल यात्री साविक पृथ्वीनगर ४ का ७५ वर्षीय खड्गबहादुर कार्कीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । कार्की छोरीको घरबाट विहान पृथ्वीनगर फर्किने क्रममा दूर्घटना भएको ट्राफ्रिक प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक इलामको इरौँटार निवासी १८ वर्षीय मणि थापा झापा कारागार चलान भएका छन् ।

त्यस्तै असोज २८ गते पञ्चमीका दिन बिर्तामोड ३ स्थित भगवान चोकमा मे १ प ७३४५ नम्बरको मोटरसाइकलले साइकल यात्री स्थानीय ६० वर्षीय लड्डुु राजवंशीलाई ठक्कर दिँदा राजवंशीको ज्यान गएको थियो ।

मोटरसाइकल चालक १९ वर्षीय प्रजेश राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिई जेल चलान गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राईले चाडपर्वमा सुरक्षा जाँच कडा पारिएको बताए । दूर्घटना बढ्न सक्ने आशंकामा ट्राफिक प्रहरी र विभिन्न संघसंस्थाले महाअभियानमेत सञ्चालन गरेका थिए ।

चाडपर्वमा यात्रुको चाप बढी हुने, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दूर्घटना बढी हुने गरेको प्रहरीको ठम्याई छ ।

तीब्ररुपमा सवारी चलाउने, बढी यात्रु हाल्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बेल्ट नबाँध्ने सवारी साधनका आवश्यक कागजात साथमा नराख्ने, सवारी चालक तथा धनी कारवाहीमा परेको प्रहरीले जनाएको छ ।

सो अवधिमा प्रहरीले सवारी नियम पालना नगर्ने २ हजार ७० वटा सवारी चालक र धनीलाई कारवाही गरेको छ । सवारी र ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधनका चालक र धनीलाई कारवाही गर्दा १२ लाख ८५ हजार रुपैयाँ जरिवाना रकम संकलन गरेको प्रहरी निरीक्षक राईले जानकारी दिएका हुन् ।

ट्राफ्रिक प्रहरी कार्यालयका अनुसार मापसे गरेर सवारी साधन चलाउने १३९ जनालाई कारवाही गरेको छ । चालकको मुख सुँघेर सवारी चेकजाँज गर्दै आएको ट्राफिक प्रहरीले व्रेथलाइज प्रयोग गरी मापसे विरुद्धको कारवाही गर्दै आएको छ । मापसे कारवाहीमा अधिकांश मोटरसाइकलका चालक परेका छन् । जरिवानासँगै मापसे गर्ने चालकको लाइसेन्समा दूलो पार्ने गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *