Sajhamanch Archive

सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, by .

भद्रपुर । भारतीय बजारमा निर्भर पुष्प पारखीलाई भद्रपुर मै सयपत्री फुलाई दिएपछि यस वर्ष स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको छ । युवा व्यावसायी खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा पहिलोपटक २ विगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरी ढकमक्क फूल फुलाएपछि पुष्प पारखीलाई स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको हो ।

सांस्कृतिक पर्व तिहारमा सयपत्री फूललाई बढी महत्व दिइने हँुदा झापाका बजारमा भारतीय विषदीयुक्त फूल आयातले भरिने गर्दथ्यो । विगत वर्षहरुका भारत निर्भरतालाई घटाउन यस वर्षबाट दाहाल दम्पत्तीले सयपत्री र मखमली फूल खेती सुरु गरेका हुन् ।

तिहारमा मात्र होइन पछिल्ला वर्षहरुमा फूलको प्रयोग सभा समारोहस्थल सजाउन, अतिथिको स्वागत सत्कारदेखि जन्म—मृत्युसम्म बढ्दै गइरहेको छ । समाजमा मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री फूल प्रयोगकर्ताले नेपाली उत्पादन पाउन कठिन रहेको झापा सदरमुकाममा दाहाल दम्पत्तीको हिम्मतले यसवर्ष भने सहजै नेपाली फूल प्राप्त हुने वातावरण बनाइदिएको हो ।

तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला होस् या पाहुनालाई सम्मान गर्न सयपत्री फूलको माला पहिलो प्राथमिकतामा रहने गरेको छ । सामाजिक गतिविधिका हरेक क्षेत्रमा महत्वपूर्ण र माग भएको वस्तु उत्पादनमा नेपाली उद्यमीहरुले ध्यान दिन नसक्दा छिमेकी भारतमा निर्भर हुनु परेको तीतो यथार्थ जीवित नै छ ।

भारतमुखी आयातित व्यापार घटाएर स्वदेश मै बसेर गरिने पुष्प व्यावयाय पनि आयआर्जनको महत्वपूर्ण पाटो बनाउन सकिने सोचलाई साकार पार्न भद्रपुरका दाहाल दम्पत्तीले सयपत्री फूलको खेती मार्फत आत्मनिर्भर हुन कम्मर कसेर लागिपरेको बताएका छन् ।

दाहाल दम्पत्तीले भद्रपुर–७ इलुबारीमा दुई विगाहा १० कठ्ठा जग्गा वार्षिक ५० हजार भाडा तिर्ने गरी लिएर सयपत्री फूलको व्यावसायिक खेती शुर गरेका हुन् । सीमावर्ती नाकाहरुबाट वर्षेनी करोडौँ मूल्य बराबरको फूल भित्रिरहेको अवस्थालाई मध्यनजर गर्दै फूलमा आत्मनिर्भरतासँगै आयआर्जनका लागि सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको उनीहरुको भनाई छ ।

झापाको भद्रपुरसँगै अर्जुनधारा, मेचीनगर, बिर्तामोड, गौरादहलगायतका क्षेत्रमा किसानहरुले यसपाली २० विगाहाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन् । बाह्रैमास फूल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने विरुवा रोपेको कृषक खेमराज दाहलले जनाएका छन् ।

उनका अनुसार यसवर्ष ३ लाख बढी खर्च भएको फूल खेतीबाट लगानी उठ्ने विश्वास छ । पुष्प खेती गर्नु पूर्व जमिनको अध्ययन तथा माटोको गुणस्तर पहिचान गरेर काम सुरू गरे लगानी कम लाग्ने कृषक दाहालले अनुभव संगालेका छन् ।

अन्य समयभन्दा तिहारमा बढी माग हुने सयपत्री फूल भारतबाट भित्रिने र फूल किन्न घुइँचो लागेको देखेर यसको खेती गर्ने सोच आएको उनको भनाई छ । चैत महिनाबाट शुरु गरिएको यो खेतीमा कलकते जातको विरुवा सुनसरीको इटहरीबाट ल्याएर साढे सातहजार विरुवा रोपिएको खगिन्द्र खुशीले बताइन् ।

स्थानीय सरकारले चासो देखाएमा पुष्प खेती सफल हुने उनीहरुको विश्वास छ । फूल किन्न व्यापारीहरु बारीमै आउँने गरेका छन् । सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फूल्न थाल्ने भएकाले आगामी तिहारका लागि नयाँ विरुवाबाट फूल फूल्न तयार भइरहेको खुशीले जानकारी दिइन् । उनले अन्य खेतीभन्दा पुष्प खेतीमा काम गर्न सजिलो र उत्पादन खर्चसमेत कम हुने अनुभव संगालेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *