Sajhamanch Archive

सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना

Published: in अर्थतन्त्र by .

काठमाडौँ  । सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना भएर पनि नेपालमा अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गर्न नसकिएको धारणा सम्बन्धित व्यवसायीहरूले राखेका छन्  ।

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालमा सूचना प्रविधि व्यवसायका लागि उपयुक्त स्थान भएको धारणा राखे । कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले नेपालमा बर्सेनि ५ हजारभन्दा बढी सूचना प्रविधिका दक्ष जनशक्ति भए पनि अन्य देशका लागि बाहिरिने गरेको बताए ।

एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले नेपालमा वैदेशिक लगानी भित्र्याउने उपयुक्त नीति नहुँदा आफ्नो कम्पनीका लागि आउन लागेको ५० करोड लगानी रद्द भएको अनुभव सुनाए । ढकालले नेपालको सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका कम्पनीहरूको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुगिनसकेकाले पनि यहाँ ठूला कम्पनीहरूले भित्रिन नसकेको धारणा राखे ।

सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी भेरिस्क नेपालका उपेन्द्र प्रधानले नेपालमा स्रोतमा गर्नुपर्ने लगानी अन्य देशको भन्दा निकै कम भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ताको लागि अवसर भएको तर्क राखे ।

‘नेपालमा कुनै वस्तु वा सेवा उत्पादनका लागि गर्नुपर्ने लगानी अन्य देशको भन्दा निकै कम छ,’ उनले भने, ‘भारतको भन्दा तीन गुणा कम छ ।’ टूटलका संस्थापक तथा सीईओ शिक्षित भट्टले उपयुक्त बिजनेस मोडल पहिचान गरे नेपालका सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका कम्पनीले पनि धेरै सफलता हासिल गर्न सक्ने धारणा राखे । ‘म्याकडोनाल्डको भन्दा मीठो बर्गर बनाएर मात्र हुन्न,’ उनको तर्क छ, ‘ठूलो ब्रान्ड पनि बनाउन सक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै लिप फ्रग टेक्नोलोजीका वरिष्ठ उपाध्यक्ष रिचन श्रेष्ठले नेपालमा काम गरिरहेका कम्पनीले विदेशमा समेत छुट्टै परिचय बनाउनुपर्ने अवस्था रहेको अनुभव सुनाए । ‘नेपालमा बसेर विदेशी कम्पनीका लागि काम गर्ने हो भने सोही देशमा कानुनी परिचय स्थापित गर्नुपर्छ,’ उनले भने, ‘त्यसो भएपछि आफ्ना ग्राहकसँग सामिप्यता हुन्छ ।’

अनलाइन स्टोर सस्तो डिलका संस्थापक अमुन थापाले मानिसहरू प्रविधिमा अभ्यस्त भइरहेकाले प्रविधिसँग सम्बन्धित व्यवसायको सम्भावना व्यापक रहेको धारणा राखे ।

कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *