Sajhamanch Archive

कल्पनाशील कम्प्युटर

Published: in शिक्षा by .

पाठकगण, आज म तपाईंहरूलाई भविष्य यात्रामा लैजान, कल्पनाशील हुने जमर्को गर्दैछु । दृश्य २०३० सेप्टेम्बर २४ तारिखको हो ।

प्रत्येक दिनजस्तै काँधमा ‘अफिस ब्याग’ झुण्ड्याएर मेरो पात्र प्रज्ञान ‘लिफ्टमा’ प्रवेश गर्छ । ऊ न्युयोर्क शहरको ‘अपमार्केट इस्ट भिलेज अपार्टमेन्ट’को १६औं तल्ला निवासी हो ।

‘लिफ्ट’बाट निस्केर आफ्नो फ्ल्याटको मूल ढोका अगाडि पुग्न नपाउँदै एउटा मधुर स्वर उसको कानमा पर्छ, आइपुग्यौ प्रज्ञान ? आज अलि ढिलो भयो नि ?

सुशान्तले ढोका बाहिरबाटै जवाफ फर्कायो, ‘हो, परमिता, आज अफिसमा बढी नै व्यस्त भइयो ।’ प्रज्ञानले जवाफ दिनासाथ ढोका उघ्रियो ।

काँधमा झुण्डिएको ब्याग सोफा छेउको मेचमा राखेर ऊ मोजा फुकाल्दै थियो । फेरि त्यही मधुर स्वर गुञ्जियो, ‘आज तिमी धेरै नै थाकेजस्ता छौ, तिम्रो ‘सुगर लेभल’ पनि ‘डाउन’ छ । ‘टी–मेकर’को तल चिया छ, ‘सुगर लेभल मेन्टेन’ गर्न मैले चियामा चिनी अलि बढी नै हालेकी छु ।’

प्रज्ञान उठेर किचेनमा गयो, ‘टी–मेकर’मुनि रहेको चियाको कप उठायो । चियाको चुस्की लिँदै बैठक कोठामा फर्कियो । चियाको स्वाद उसको रुचीअनुसार ‘पर्फेक्ट’ थियो । चियाको लामो घुट्को निल्दै उसले सोफामा आफ्नो टाउको अड्यायो ।

सोफामा टाउको अड्याउनसाथ ‘म्युजिक सिस्टम’बाट लता मङ्गेस्करको स्वर गुञ्जियो, ‘तुम न जाने किस जहाँ मे खो गए, हम भरी दुनियाँ मे तन्हा हो गए ।’

यो प्रज्ञानको युवावस्थादेखिकै ‘रिल्याक्स्’ अनुभव गर्ने तरिका थियो । ऊ बढी थकित हुँदा १९५० दशकतिरका विरह गीत सुनेर आराम गथ्र्यो ।

आज दिउँसैदेखि प्रज्ञानलाई आफ्नी पत्नी परमिताको एकदमै याद आइरहेको थियो । परमिता अहिले ऊसँग थिइनन् । उनी न्युयोर्क शहरबाट हजारौं किलोमिटर टाढा दिल्ली नजिकको गुडगाँवमा छिन् ।

प्रज्ञान आइटी इन्जिनियर हो । आफ्नो कामको सिलसिलामा उसले कहिलेकाहीँ लामो समय न्युयोर्कमा बिताउनु पर्ने हुन्छ । परमिता दिल्ली विश्वविद्यालयकी प्रोफेसर हुन्, पतिका साथ उनी न्युयोर्क आइरहन सम्भव हुन्न ।

पाठकवृन्द, म तपाईंहरूसँग फेरि एक पटक संवाद गर्न एकछिन कथा रोक्छु ।

मैले रोकिएर संवाद गर्न खोजेकोमा तपाईंलाई पनि उचित नै लागेको हुनुपर्छ । तपार्इंलाई लागेको हुनसक्छ, कस्तो बकम्फुसे कुरा गरिरहेछ, जब प्रज्ञानकी पत्नीसँगै छैनन् भने ऊ ढोकामा आउनासाथ परमिताले उसलाई कसरी नामै काढेर बोलाउन सक्छे ? चिया कस्ले तयार गरिदियो ? र, कसले प्रज्ञानका मनोभाव पढेर उसको रुचिअनुसारको गीत बजाइदियो ?

तपाईंको मष्तिष्कमा चलिरहेका अनेकौं प्रश्नको मसँग एउटा मात्र उत्तर छ । त्यो उत्तर हो, ‘आर्टिफिसियल इन्टेलिजेन्स्ले ।’ अथवा भनौं, मेसिनरी मेधामा आधारित उसको फ्ल्याटको स्वचालित प्रणालीले । प्रज्ञान ढोकाअगाडि आइपुगेदेखिका सबै घटना उपक्रम कम्प्युटरले सञ्चालन गर्दै थियो ।

एक पटक यो समस्त प्रणालीमाथि दृष्टिपात गरौं । भूइँ तल्लामा रहेको पार्किङमा प्रज्ञानले गाडी पसाउनसाथ उसको मोबाइलमा जडित ‘जीपीआरएस’सँग ‘कनेक्टेड’ उसको घरको कम्प्युटरलाई संज्ञान भयो, प्रज्ञान ‘ग्राउन्ड फ्लोर’मा आइसक्यो, अब केही बेरमै आफ्नो फ्ल्याटमा आइपुग्छ । कम्प्युटरले मूल ढोकामा जडित क्यामेरालाई निर्देशन दियो, ‘आउने व्यक्तिको अनुहार ‘स्क्यान’ गरेर पठाऊ ।’

लिफ्टबाट निस्केर जब प्रज्ञान आफ्नो फ्ल्याटको ढोकातिर लम्किदै थियो, क्यामेराले उसको अनुहार ‘स्क्यान’ गरेर कम्प्युटरलाई पठाइदियो ।

कम्प्युटरमा सञ्चित प्रज्ञानको अनुहारसँग जब आगन्तुकको अनुहार मेल खायो, तब कम्प्युटरले दोस्रो सुरक्षा जाँच गर्ने हेतुले परमिताको आवाजमा स्वागत गरेर प्रज्ञानलाई बोल्न बाध्य बनायो ।

तपाईंहरूलाई मैले भनिराख्नु पर्दैन, यदि प्रज्ञानको सट्टा कुनै अर्को व्यक्ति त्यहाँ पुगेको भए कम्प्युटरले परमिताको आवाजमा प्रज्ञानको स्वागत गर्ने थिएन । वास्तबमा यो स्वागत नभएर दोस्रो चरणको सुरक्षा जाँच पद्धति थियो, जसअन्तर्गत कम्प्युटरले आगन्तुकको आवाज सुनेर आफूसँग रेकर्ड रहेको प्रज्ञानको आवाजसँग मिले नमिलेको एकीन गर्नु थियो ।

प्रज्ञानले कुनै प्रतिउत्तर नदिएको भए ढोका खोलिने नै थिएन । आवाज मेल खाएपछि कम्प्युटरले ढोकामा जडित स्वचालित ‘मेकानिकल सिस्टम’लाई ढोका खोल्ने आदेश दियो । प्रज्ञान बैठक कक्षमा प्रवेश गर्नासाथ त्यहाँ जडित क्यामेराले उसको आँखा र अनुहारको ‘स्क्यान’ गरी कम्प्युटरमा पठाइदियो ।

कम्प्युटरलाई थाहा भयो, प्रज्ञान बढी थाकेको छ र उसको रगतमा ‘सुगर’ स्तर सामान्यभन्दा तल पुगेको छ । त्यसैले कम्प्युटरले ‘टी–मेकर’लाई चियामा चिनीको मात्रा बढाउने सन्देश पठायो ।

प्रज्ञान आफ्नो पत्नीलाई खुब प्रेम गथ्र्यो, उसले न्युयोर्कको आफ्नो स्वचालित फ्ल्याटको कम्प्युटरको नाम नै परमिता राख्यो र उनकै आवाज कम्प्युटरमा ‘फिड’ ग¥यो, परमितासँगै नभए पनि कम्तीमा उनको स्वर त सुन्न पाइयोस् भनेर । त्यसैले हजारौं किलोमिटर टाढा हुँदाहुँदै पनि प्रज्ञानलाई परमिताको ‘भर्चुअल’ साथ उपलब्ध भइरहेको थियो ।

तपाईंलाई यी सबै साई–फाई (साइन्स् फिक्सन) वा विज्ञान गल्प लागिरहेको होला । तर होइन, अब यो काल्पनिक कथामा मात्र सीमित रहने छैन, १०–१२ वर्षमा यथार्थमै परिणत हुनेछन् ।

तपाईंलाई पत्यार लागेन ? ल ठीक छ, म सन् २०३० को सेप्टेम्बरबाट २०१८ मै फर्किन्छु । तपाईं र मेरो ‘टाइमलाइन’ एउटै …।

सन् २०१८ सेप्टेम्बर २४ तारिखका दिन प्रज्ञान कम्पनीको कामले मुम्बइ पुगेको छ । हरितालिका तीजको दिन, उसको सुस्वास्थ्यका लागि ब्रत बसेकी पत्नी गुडगाँवमा छिन् । उसलाई साह्रै खल्लो अनुभव भइरहेको छ ।

प्रज्ञान अफिसबाट होटल फर्किदा बाटोमा रहेको साडी पसल ‘फेशन सारीज्’मा पस्यो । उसले एक्लै गएर परमिताका लागि कहिल्यै साडी किनेको थिएन । आज ऊ एक्लै भए पनि परमिताका लागि साडी किन्ने मुडमा थियो ।

शोरुममा उसले ‘लेटेस्ट डिजाइन’को ‘कान्जीवरम’ साडी मन परायो । काउन्टरमा गएर साडीको बिल लियो र ‘पेमेन्ट’ गर्न ‘सेल्स्गर्ल’लाई क्रेडिट कार्ड दियो । साडी उसले बाँया हातमा लिइराखेको थियो, अचानक उसको मोबाइल बज्यो । दाँया हातले खल्तीबाट मोबाइल झिकेर उसले ‘हेल्लो’ भन्यो ।

उताबाट आवाज आयो- ‘सर, यो ‘एबीसी बैंक’को ‘कन्फर्मेशन कल’ हो । के तपाईंले भर्खरै मुम्बईको शान्ताक्रुजस्थित फेसन सारीजमा कुनै ‘पेमेन्ट’ गर्नुभएको छ ?’

‘हो, मैले यहाँ एउटा साडी किनेको छु, यसकै ‘पेमेन्ट’ दिएको हुँ,’ प्रज्ञानले भन्यो ।

उताबाट आवाज आयो- ‘थ्याङ्क्स् फर कन्फर्मिङ् सर, ह्याप्पी शपिङ एण्ड गुड डे ।’

यस्तो फोन कल वर्तमानमा हाम्रो जीवन पध्दति नै बनिसकेको छ । पक्कै पनि, तपाईंहरूमध्ये कतिपयले पनि यस्ता फोन कल पटक पटक ‘रिसिभ’ गरिसक्नु भएको हुनुपर्छ ।

तर, यो सामान्य फोन कलका पछाडि ठूलो स्वचालित सिस्टमले काम गरिरहेको हुन्छ । यसमा कम्प्युटर र इन्टरनेटको सञ्जाल सक्रिय भएको हुन्छ । यो सिस्टमले केही मिनेटभित्रै तपाईंले गरेको लेनदेनको विवेचना गरेर तपाईंलाई जानकारी उपलब्ध गराउँछ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स्’को प्रयोग गरेर कम्प्युटरले तपाईंका आर्थिक व्यवहारबारे तत्काल थाहा पाउँछ । क्रेडिट कार्ड ‘स्वाइप’ हुनासाथ बैंकको कम्प्युटरले ‘पेमेन्ट’बारे थाहा पाउँछ । अझै अचम्मको कुरो ‘सिस्टम’ले सधैं फोन गरेर तपाईंसँग ‘कन्फर्मेशन’ खोज्दैन । सधैं गरिरहने ‘रुटिन’ गतिविधिमा सिस्टमले ‘कन्फर्मेशन’ खोज्दैन । तर जब तपाईं ‘रुटिन’भन्दा बेग्लै गतिविधि गर्नुहुन्छ, ‘सिस्टम’ले ‘कन्फर्म’ गर्न चाहन्छ ।

तपाईंका ‘रुटिन’ गतिविधिको ‘पेटर्न’ अथवा आवृत्ति ‘सिस्टम’को मेमोरीमा रहेका हुन्छन् । तर, जब सिस्टमको मेमोरीमा  भण्डारण गरिएको ‘पेटर्न’सँग तपाईंको नयाँ गतिविधि मेल खाँदैन, तब उसले नयाँ ‘पेटर्न’को सेकेन्डमै गणना, समालोचना र यसबाट निष्कर्ष निकाल्ने काम गर्छ । निष्कर्षमा पुगेर ‘सिस्टम’ सक्रिय हुन्छ, पुरानो मेमोरीसँग मेल खायो भने रुटिनअनुसारको सन्देश पठाउने र मेल खाएन भने तुरुन्त ‘एक्सन’ लिएर तपाईंसँग ‘कन्फर्म’ गर्ने । यही त चमत्कार हो, ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को ।

एक पटक आफैं विचार गरी हेर्नोस्– तपाईंको दैनिक जीवनमा चारैतिर भइरहेका घटनामा तपाईंको स्मृतिकोषमा बुद्धिद्वारा सञ्चित अनुभवकै आधारमा गणना गर्छ, होइन र ? बुद्धिले गरेको यो गणनाले नै तपाईंको क्रिया–प्रतिक्रियाको पृष्ठभूमि निर्धारण गर्छ । क्रिया–प्रतिक्रियाको यसै सतत् आवृत्तिमा (पेटर्न वा रिपिटेशन) हाम्रो सामान्य जीवनको अधिकांश समय खर्च हुन्छ । शरीरमा तन्त्रिका तन्त्र (नभ्र्स् सिस्टम) को माध्ययमले  हाम्रो बुद्धि र अन्य इन्द्रियहरूमा निरन्तर संवाद भइरहन्छ । यीमध्ये धेरै क्रियाकलाप त मात्र आवृत्तिमा आधारित हुन्छन् । यी क्रियाकलाप गर्नलाई बुद्धिले थप श्रम गर्नु पर्दैन । यी स्वयंमेव (अटोमेटिकल्ली) हुन्छन् । जस्तैः ब्रस गर्नु, झिँगा धपाउनु वा भोजन गर्दा मुख खोल्नु आदि ।

व्यक्तिदेखि समष्टिसम्म जीवनका सामान्य कार्यव्यवहार मानिस र प्रकृतिबीचका क्रिया–प्रतिक्रियाको आवृत्तिबाटै सञ्चालित हुन्छन् । तपाईं साहित्यानुरागी हुनुहुन्छ भने यसरी बुझ्नुस्– मानव जीवनमा सम्पादन भइरहेका क्रिया–प्रतिक्रियाको अनवरत क्रमको सतत् आवृत्ति नै जीवन हो ।

तर, अहिलेसम्म मानव शरीर र मेसिनमा एउटा आधारभूत भिन्नता छ । त्यो हो, मानवसँग इन्द्रियका अतिरिक्त मन, बुद्धि, भाव, हृदयजस्ता अमोघ अस्त्र छन् । जुन अहिलेसम्म मानव निर्मित मेसिनसँग छैनन् ।

यहाँ अति महत्वपूर्ण विचारणीय प्रश्न के हो भने– मेसिनसँग अहिले यी अस्त्र छैनन् भन्दैमा के भविष्यका कम्प्युटरमा पनि यिनको स्वतन्त्र रुपले विकास हुन सक्दैन र ?

उत्तर त्यति सजिलो छैन । विश्वकै विद्वानहरूको मत यसबारे विभाजित छ । केही विद्वान सम्भव छ भन्छन् भने केही यसको सम्भावना छँदैछैन भन्नेमा दृढ छन् । सही उत्तर भविष्यको गर्भमै छ ।

अहिले हाम्रो चर्चाको विषय मेसिनी बुद्धि वा ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को वर्तमान स्वरूप र निकट भविष्यमा हुन गइरहेको यसको प्रयोग–उपयोगमा केन्द्रित छ ।

यदि कल्पनाशक्तिलाई गणना नगरी कुरा गर्ने हो भने अहिलेका मेसिनसँग मनुष्यभन्दा बढी स्मरणशक्ति (मेमोरी पावर) र गतिणीय शक्ति विद्यमान छ । अब त यस्ता कम्प्युटर पनि बनिसकेका छन्, जुन कम्प्युटरका ठूला नेटवर्कसँग जोडिएर अपरिमित विशालकाय गणना वा सामर्थ्य देखाउन सक्छन् ।

कल्पना शक्ति बाहेकका समस्त ती कार्य जसमा स्मृतिमा सञ्चित जानकारीको गणना वा तुलनात्मक अध्ययन गरेर निष्कर्षमा पुग्ने गरिन्छ, यस्ता सबै काममा मेसिन, बुद्धिमानभन्दा बुद्धिमान, मनुष्यभन्दा श्रेष्ठ सावित भइसकेको छ । ‘मेसिन इन्टेलिजन्स् सफ्टवेयर’ को उपयोगले मनुष्यले गरिआएका अनेक कार्य अहिले नै कम्प्युटरले गर्न थालिसकेको छ ।

सम्झिनुस् त, २०–२५ वर्ष पहिला मान्छेले गर्ने कतिपय कार्य अहिले मेसिनले कति कुशलतापूर्वक गरिरहेको छ । जस्तै, घरमै बसी–बसी बैंकको एक खाताबाट अर्को खातामा रकम पठाउनु, बस, हवाइजहाज र रेलको टिकट किन्नु, बिजुली, पानी र टेलिफोनका महशुल तिर्नु आदि । यस्ता सबै काम मानिसले गर्नेभन्दा द्रूत, त्रुटिरहित र भरपर्दो ढंगले मेसिनबाट भइरहेका छन् ।

अचेल ज्योतिषीहरूले पनि तपाईंको चिना कम्प्युटरबाटै बनाउन थालेका छन् ।

निकट भविष्यमै मिडिया, कृषि, स्वास्थ्य, शिक्षा, यातायात, सेवा आदि क्षेत्रमा समेत ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को प्रभाव र उपयोगिता तीव्र गतिले बढ्ने छ ।

अहिले हामी ‘मेसिन इन्टेलिजेन्स’को चरणमा छौं । अब विस्तारै ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को युग आउँछ । विश्वका कतिपय मुलुकले ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । सन् २०१७ मा मात्रै यो क्षेत्रमा ६.४ बिलियन डलर खर्च गरियो । सन् २०१६ मा यो ३.८ बिलियन डलर रहेको थियो । भारतले यो क्षेत्रमा सन् २०१६ मा ४४ मिलियन डलर खर्च गरेको थियो भने सन् २०१७ मा ७३ मिलियन डलर ।

सन् २०३० भित्र ‘आर्टिफिसियल इन्टेलिजेन्स्’ क्षेत्रमा ठूलो चमत्कार हुने विश्वास गरिएको छ । गाडी, हवाइजहाज चालक विहीन हुनेछन् । डाक्टरको ठाउँमा ‘स्पेशलिस्ट डाक्टर रोबोट’ हुनेछन् । कक्षा कोठामा विद्यार्थी सामु शिक्षक रोबोट नै हुने छन् ।

मिडियाको कुरा गर्ने हो भने, ‘सब–एडिटिङ’, समाचार सार, भाषा रूपान्तरण, शुद्धाशुद्धि, आवाजबाट लिपिबद्ध हुने, लिपि आवाजमा बदलिने सबै काम कम्प्युटरको ‘अपरेटिङ सिस्टम’ (ओएस)ले गर्ने छ ।

अबको १५–२० वर्षमा धेरै मानिस बेरोजगार हुने छन् । यहाँनेर प्रसिद्ध यहुदी लेखक युभल नोव हरारीले आफ्नो प्रसिद्ध पुस्तक ‘सेपियन्स्: अ ब्रिफ हिस्ट्री अफ म्यान्काइन्ड’मा उठाएका प्रश्नमाथि चर्चा गर्नु सान्दर्भिक होला ।

यदि मेसिनले सबै काम गरिदिने भयो भने मानिसले के गर्छ होला ? उनी यस्तो समयको परिकल्पना गर्छन् जब ‘मेसिन इन्टेलिजेन्स्’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स्’ को व्यापक प्रयोगले मनुष्यका सारा अभाव मेटाइदिन्छ । मानिससँग खान, लाउन, रोगसँग लड्न वा अन्य उपयोगी  विलासी वस्तुको कुनै कमी हुँदैन । साँचो अर्थको समाजवाद वा साम्यवाद आउँछ । तर, मनुष्यसँग गर्नलाई केही पनि हुँदैन, ऊ आफूलाई केमा व्यस्त गर्छ ? समय कसरी बिताउँछ ?

हरारी दोस्रो प्रश्न गर्छन्, ‘के भविष्यमा यस्तो हुन सक्दैन ? मेसिनले बुद्धिले गर्ने कामका साथै मनले गर्ने काम पनि गर्न थालोस् ।’

यसलाई यसरी बुझौं- अहिलेका कम्प्युटरले मानिसद्वारा ‘फिड’ गरिएका ‘एल्गोरिदम’ अनुसार काम गर्छन् । प्रारम्भमा सामान्य गणितीय गणनाका लागि बनाइएका ‘एल्गोरिदम’ जटिलतम् हुँदै गएका छन् । कम्प्युटरको काम पनि गणनाभन्दा अगाडि बढिसकेको छ । पहिला कम्प्युटर ‘एल्गोरिदम’ अनुसारको गणना मात्र गथ्र्यो, वैज्ञानिकहरू ती गणनाबाट आशय वा अभिप्राय बुझेर निष्कर्षमा पुग्ने काम गर्थे ।

पछिल्ला पुस्ताका कम्प्युटरले गणना मात्र होइन, गणनाको आशय बुझेर त्यसबारे निष्कर्षमा पुग्ने मात्र पनि होइन, निष्कर्षअनुसारको ‘एक्सन’ समेत सञ्चालन गर्न थालेका छन् ।

जटिलतम हुँदै गइरहेको ‘एल्गोरिदम’बाट के यो सम्भव छैन- कम्प्युटरले आफ्नो नयाँ कुनै ‘एल्गोरिदम्’ विकास गर्न सकोस् । यस्तो भएमा प्रारम्भमा सीमित मात्रामा मात्र किन नहोस्, कम्प्युटरसँग कल्पनाशीलता हुनेछ । यसको परिणामको भयावहताबारे अनेकन ‘साइन्स् फिक्सन मुभी’ बनेका छन् ।

अहिले कल्पना मात्र गर्न सकिन्छ, मेसिनसँग यस्तो क्षमता विकसित भयो भने मनुष्यताको भविष्य के हुन्छ ?

तपाईंलाई अहिले विश्वास नलागे पनि १२-१५ वर्षमा ‘आर्टिफिसियल इन्टेलिजेन्स्’ले अकल्पनीय जटिलता सिर्जना गर्नेछ । यो मानवताका लागि भष्मासुर वा कल्पवृक्ष के सावित हुन्छ ? त्यो भविष्यकै गर्भमा छ । तर यति चाहिँ निश्चित छ, आउने डेढ दुई दशक मानवीय सभ्यताको विकासक्रम निःसन्देह कल्पनातीत् हुनेछ ।

Ratopati

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *