Sajhamanch Archive

डेंगु ज्वरोका कारण झापामा ३ जनाको मृत्यु, जिल्लाका आधादर्जन नगरपालिका उच्च जोखिममा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । वितेको ६ वर्षमा डेंगु रोगका कारण झापा जिल्लामा तीन जनाको ज्यान गएको छ ।

झापाका मेचीनगर, विर्तामोड, दमक नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । डेंगु रोकथामको पूर्व तयारीमा आइतबार मेचीनगर नगरपालिकाको सभाकक्षमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोग नियन्त्रण सम्बन्धि सरोकारवालाहरुसँगको नगरपालिका स्तरीय एकदिने अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य अधिकारीहरुले प्रस्तुत गरेको तथ्याङ्कमा सन् २०१२ देखि २०१७ सम्म आइपुग्दा जिल्लामा डेंगुका कारण उनीहरुको ज्यान गएको उल्लेख छ ।

पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका रोगी फेला परेका थिए । त्यसपछि सन् २००९ सम्म फाट्ट फुट्ट रुपमादेखा परेको यो रोगले सन् २०१२ देखि चितवन र नवलपरासीबाट महामारीकारुपमा फैलिएको स्वास्थ्य अधिकरीहरुले बताएका छन् ।

झापामा सन् २०१२ मा ७७, २०१३ मा २ सय २ , २०१४ मा १३ , २०१५ मा ८ जना डेंगुका रोगी फेला परेका थिए । सन् २०१५ मा झापामा २ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा ४ सय २० र सन् २०१७ मा ५ सय ३५ जना डेंगुका रोगी फेला परेको र त्यो वर्ष १ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर सुपरभाईजर जीवन चौलागाईँले जानकारी दिए ।

भेक्टर कन्ट्रोलर सुपरभाईजर जीवन चौलागाईँले झापा जिल्लामा सन् २०१२ मा झापा जिल्लाको मेचीनगर नगरपालिकाक्षेत्रबाट पहिलो पटक डेंगुका रोगी फेला परेको जानकारी गराए । उनले त्यसवेला नगरमा ७७ जना डेंगुका रोगी फेला परेको बताए । अहिले पनि मेचीनगरका ३, ७, ८ र १० नम्बर वडा डेंगुको उच्च जोखिममा रहेको उनको भनाई छ ।

डेंगु रोगका बारेमा जानकारी दिर्दै सुपरभाइजर चौलागाईंले डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग डेंगु ज्वरो भएको बताए । डेंगुको विषाणुबाट संक्रमित पोथी लामखुट्टेको टोकाइले यो रोग सर्ने गर्दछ । चौलागाईका अनुसार डेंगु ज्वरोको प्रकोपबाट संसारका करिव ५ करोड मानिस प्रभावित हुने गर्दछन् । यो प्रकोप धेरै जसो उष्ण हावापानी भएका क्षेत्रहरुमा पाइने बताइएको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले गर्दा यो रोग सर्ने जानकारी दिएका थिए । यो लामखुट्टेले दिउँसो मात्र टोक्ने गर्दछ । यो लामखुट्टेले सफा पानीमा फूल पार्ने गर्दछ । वर्षातको मौसममा पानी जम्ने, टिनका डिब्बाहरु, रंगका खाली डब्बाहरु, टायर, ट्यूव, खाली ड्रमहरुमा यो लामखुट्टेले फुल पार्ने गर्दछ । घर कौसीको गमला, फुलदानी, एयरकण्डिसन, कुलर, पानीको ट्याँकीमा पनि यसले फुल पार्दछ भने वर्षातको मौसमको शुरु भएपनि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासी उच्च ज्वरो आउनु यो रोगको मुख्य लक्षण रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहनु, आसाध्यै टाउको दुख्नु, आखाँको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा विमिरा आउने, रक्तश्राव हुने हाड, जोर्नी तथा मांशपेशीहरु दुख्नेलगायत डेंगु ज्वरोको मुख्य लक्षण रहेको चौलागाईँले प्रष्ट पारे ।
धेरै ज्वरो आउनुको साथै माथि उल्लेखित लक्षणहरु मध्ये दुई वा दुई भन्दा बढी लक्षणहरु देखा परेमा डेंगु ज्वरो आएको शंका गर्नु पर्दछ । यी लक्षण बाहेक पनि डेंगु ज्वरो आएको अवस्थामा वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा नीलडाम देखापर्ने तथा वेहोस वा अचेत समेत हुने लक्षण देखा पर्दछ ।

उनका अनुसार डेंगु ज्वरो विषाणुको कारणबाट लाग्ने भएकाले यसको वास्तविक रुपमा कुनै किसिमको उपचार छैन् । तर, विरामीमा देखिएका लक्षण अनुसारको उपचार गर्नै गरिन्छ । ज्वरो घटाउन सिटामोल र प्रशस्त मात्रामा झोल पदार्थ पिउनु पर्दछ । त्यसैले यस्ता लक्ष्णहरु कुनै पनि व्यक्तिमा देखा पर्ने वित्तिकै डेंगु ज्वरो हुने जटिलताबाट बचाउन तुरन्त स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।

उनले यो रोगबाट बच्ने उपाय यसका जोखिमका बारेमा समेत सहभागी सवैलाई प्रष्ट पारेका थिए । लामखुट्टेको टोकाइबाट बच्ने, लामखुट्टेको बृद्धि र विकासमा नियन्त्रण गर्ने, घर आँगन, लार्भा नष्ट गर्ने , कौसीको हरहमेशा सरसफाई गर्ने, र पानी जम्न नदिने, टिनका खाली डिब्बाहरु, रंगका खाली डब्बाहरु, टायर, ट्यूव, खाली ड्रमहरुमा पानी जम्न नदिने, पानीको नाली ढल, पोखरी आदिमा हप्ताको २ पटक डढेको मोविल मट्टितेल छर्किने, खानेपानी ट्याँकी राम्ररी ढकन लगाएर राख्न सके डेंगु ज्वरोबाट बच्न सकिने उनले बताए ।

उपप्रमुख मिना पोखरेल उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा उहाँले डेंगु रोग नियन्त्रणमा सवैक्षेत्र लाग्नुपर्नेमा जोड दिईन् । स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले सवै जनप्रतिनिधिहरुलाई आफ्नो वडामा गाउँ गाउँमा यसबारेमा शिक्षा प्रदान गर्न र चेतना फैलाउन आग्रह गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *