दूर्लभ केस हेण्डल गर्दै बि एण्ड सी अस्पतालको सर्जन टिम
Published: (Updated: )
by .झापा । विश्वका थोरै मानिसहरुमा मात्र हुने स्वास्थ्य समस्याहरुको पनि सहज र सरल विधिबाट शल्यक्रिया गरेर बिरामीको ज्यान बचाउन यहाँस्थित बि एण्ड सी अस्पताल सफल बन्दै गएको छ ।
हुन त चिकित्सकको काम भनेकै बिरामीको उपचार गर्नु र निको बनाएर आ–आफ्नो घर पठाउनु हो । दक्ष एवम् आँटिलो चिकित्सक टोली र अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया कक्षको अभावमा बिरामीलाई अन्यत्र रिफर गरिदिने गरिन्थ्यो । तर बि एण्ड सीमा जडान गरिएका उच्च प्रविधियुक्त सामग्री एवम् गहकिलो सर्जन टिमका कारण जटिल किसिमका स्वास्थ्य समस्यालाई लगातार किनारा लगाउन थालेको हो ।
एक वर्ष पहिले प्याङ्क्रियाजमा फैलिएको क्यान्सर सफल शल्यक्रिया गरी बिरामीलाई पुनः जीवन दिएको बि एण्ड सीमा असोज १४ गते अर्को दूर्लभ स्वास्थ्य समस्याका बिरामी भर्ना भए । टेम्पो दूर्घटनामा परेर छाती र पेटलाई छुट्याउने डायफ्राम च्यातिएका कारण फोक्सो र कलेजो टाँसिएको अवस्थामा उपचारार्थ भर्ना भएकी पाँचथरको भारपाकी ४९ वर्षीया टेकरानी आङ्बोको सफल उपचार पछि बि एण्ड सीले अर्को उदाहरण पेश गरेको हो ।
गत असोज १४ गते अपरान्ह अस्पताल भर्ना भएकी आङ्वोको उपचारमा संलग्न चिकित्सक डा. बासुदेव देवकोटा नेतृत्वको शल्यचिकित्सक टोलीले आङ्बोको उपचार गरेको हो ।
‘सामान्यतया ९० प्रतिशत दूर्घटनाका कारण यस्तो झिल्ली च्यातिन्छ, त्यो पनि देब्रेतर्फ कलेजोले छेक्ने हुँदा दाहिनेतर्फ बढी हुन्थ्यो’ सर्जन डा. देवकोटाले भने ‘तर यो केस फरक पाइयो, फोक्सोको छेउमा १२ देखि १५ सेमीको प्वाल थियो, तत्काल डाइग्नोसिस गर्न सकिएकाले सिलाउन सक्यौं ।’
उपचारमा संलग्न अर्का चिकित्सक डा. सन्देश दाहालले नेपालमा यस्तो केसको संख्या यकिन हुन नसकेको बताउँदै जर्मनीको एउटा अस्पतालमा ८ वर्षमा १४ वटा र सेनेगलमा २१ वर्षमा २२ वटा केस हेण्डल भएको तथ्याङ्क सुनाए ।
‘डायफ्राम च्यातिएर उपचारमा भर्ना भएकाहरुमध्ये देब्रेतर्फको भाग च्यातिएका अत्यन्त न्यून भएकैले टेकरानी आङ्बोको केस पनि दूर्लभ मानिएको’ डा. दाहालले प्रष्ट पारे ।
झण्डै एक महिना लामो उपचार पछि तङ्ग्रिएकी टेकरानी आङ्बोले पत्रकारहरुसँग भनिन्, ‘अब चाहिँ म बाँच्छु भन्ने आशा जाग्यो, पैसा नै नहुँदा पनि उपचार गरिदिएर बि एण्ड सीले मलाई गुन लगाएको छ ।’
आङ्बोको शल्यक्रियामा डा. बासुदेव देवकोटा, डा. सन्देश दाहाल, डा. रविनरत्न रञ्जितकार र डा. अमितकुमार साहको टोली संलग्न रहेको थियो । यो प्रकृतिको केस यहाँबाट अन्यत्र रिफर गर्नै नसकिने, रिफर गरिए पनि बिरामी त्यहाँसम्म जीवित पुग्नै नसक्ने स्थिति भएकाले आफूहरुले रिक्स लिएर शल्यक्रिया गरेको चिकित्सकहरुको दाबी छ । अन्ततः सफलता हात लाग्यो र नयाँ उदाहरण पेश गर्न सफल भएका छौं ।
यस्ता दूर्लभ केसहरु हेण्डल गर्दै आएको आँगन कै बि एण्ड सी अस्पताल छाडेर पूर्वका बिरामीहरुले अन्यत्र धाउन नपर्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पुनः दोहोर्याएका छन् । ‘हामीले दक्ष जनशक्तिको टिम, उच्च प्रविधियुक्त शल्य चिकित्सा कक्ष र ल्यावको व्यवस्था गरेका छौं, बिरामीले अन्यत्र जानै पर्दैन’ कार्यकारी निर्देशक प्रसाईंको आग्रह छ ।
Comments