Sajhamanch Archive

मलेसियासँग श्रम सम्झौता हुँदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालले मलेसियासँग आज श्रम सम्झौता गर्ने भएको छ । नेपाल आएका मलेसियाका मानव संशाधनमन्त्री एम कुला सेघरान र श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्ट नेतृत्वको प्रतिनिधिमण्डलबीच आज वार्ता हुँदैछ । वार्तापछि सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

मलेसियाबाट सेघरान नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ ।

नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । त्यसपछि दुवै देशका श्रममन्त्रीले श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ । नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

समझदारीपछि मलेसिया जाने नेपाली कामदारको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्नेछ ।

अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन । रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुने श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले राससलाई जानकारी दिए ।

यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गर्नेछ । समझदारीपश्चात् नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ ।
नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘मेनपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेछन् ।

नेपाल सरकारले विभिन्न शीर्षकमा कामदारसँग अवैध शुल्क लिँदै आएका एजेन्सीको खारेजीसँगै छ महिनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । छ महिनाको अवधिमा कामदार आपूर्तिलाई सहज बनाउन भन्दै दुई मुलुकका अधिकारीबीच पाँच पटकसम्म कूटनीतिकस्तरमा छलफल भएको थियो । दुई देशबीच तीन पटकसम्म श्रम समझदारीको मस्यौदा आदानप्रदान भएको थियो ।
मस्यौदालाई अन्तिम रुप दिन गत महिना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्रजयामा नेपाली पक्ष र मलेसियाली पक्षबीच समझदारीपत्रका अन्तरवस्तुमा सहमति जुटेको थियो ।

रोजगारी खुल्न केही समय लाग्ने

दुई सरकारका उच्च अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भए पनि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्नेछ । प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने प्रवक्ता रेग्मीले बताए ।
समझदारीपछि कामदार आपूर्तिका ढाँचा तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुने विश्वास छ । सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्नेछ ।
नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य हो । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली काम गरिरहेका छन्, जसमा  सबैभन्दा बढी सुरक्षा गार्ड छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *