Sajhamanch Archive

पूर्वी नाकाबाट हुने अवैध मासुको आयात रोक्न कडा निगरानी, धामधाम मासु जन्य वस्तु पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

मेचीनगर । प्रहरी र क्वारेन्टाइन अधिकारीहरुले पूर्वी नाकाबाट भित्रिने मासु तथा मासुजन्य वस्तुको आयात रोक्न कडा निगरानी बढाएसँगै अहिले दैनिकजसो मासुजन्य वस्तु पक्राउ पर्ने गरेका छन् ।

नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय पशु सेवा विभागले चाडपर्वका नाममा गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात हुने भएकाले यसको नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च सतर्कता अप्नाउन मातहतका सवै कार्यालयलाई निर्देशन दिएको छ ।

यस लगत्तै पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले प्रहरीको सहयोगमा पूर्वीनाकामा उच्च सतर्कता अप्नाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा, अस्थायी प्रहरी चौकी सतिघट्टाले मेचीनगरका विभिन्न भागबाट अवैधरुपमा आयात गर्दै गर्दा तीनदिनमा दर्जनौ पंक्षी तथा आधा क्वान्टिल मासु पक्राउ गरेको छ । प्रहरीका अनुसार हाँस, नेपालमा प्रतिवन्धित व्रोइलर तथा लोकल कुखुरा अनि मासु नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख मुकेशकुमार सिहंका अनुसार सोमबारमात्र करिव ४० केजी मासुका १० वटा व्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । मेचीनगर—६ स्थित तुर्केनी खेल मैदान परिसरबाट ती कुखुरा प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन प्रतिनिधि, सञ्चारकर्मीसहित विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको रोहवरमा कुखुरा नष्ट गरिएको हो । मन्त्रालयको निर्देशन अनुसार नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गर्दै पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले स्थानीय सुरक्षा निकायको सहकार्यमा चेकजाँचमा कडाइ गर्नुका साथै पूर्वीनाकामा उच्च सतर्कता अप्नाएको कार्यालय प्रमुख सिहंको भनाई छ ।

चाडपर्वमा अन्य दिनको तुलनामा मासु तथा मासुजन्य वस्तुको माग बढी हुने भएकाले पशु तथा पशुजन्य पदार्थको अवैध आयात हुने सम्भावनालाई मध्यनजर गरि यस्ता क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा एवम् अन्य सम्बन्धित निकायसँग समन्वय गरी काम शुरु गरेको कार्यालय प्रमुख सिहंले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *