Sajhamanch Archive

खसोग्जीको दूतावास छिर्नेवित्तिकै घाँटी थिचेर हत्या गरिएको टर्कीको दाबी

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । टर्कीले साउदी पत्रकार जमाल खसोग्जीको घाँटी रेटेर हत्या भएको जिकिर गरेको छ ।

खसोग्जीको हत्या कसरी भयो भन्ने बारे विभिन्न अडकलबाजी चलिरहँदा टर्कीले वाणिज्य दूताबास प्रवेश गर्नेवित्तिकै उनको घाँटी रेटेर हत्या गरेको दाबी गरेको हो ।

गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा भएको खशोग्जीको हत्याबारे कयौं हप्तासम्म संचार माध्यममा आएका विभिन्न विवरणभन्दा टर्कीले फरक बयान सार्वजनिक गरेको हो ।

टर्कीले खशोग्जीको हत्या नियोजित भन्दै हत्यापश्चात उनको शव टुक्रा–टुक्रा पारेर नष्ट गरेको पनि दाबी गरेको छ ।

यद्यपी टर्कीले आफ्नो दाबीको समर्थनमा कुनै पनि सबूत भने पेश गर्न सकेको छैन । साउदी अरबले पनि टर्कीको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन ।

खशोग्जीको हत्यामा साउदी अरबको शाही परिवार संलग्न भएको आरोप लाग्दै आएको छ । साउदी सरकारले यो आरोपको खण्डन गर्दै आएको छ ।

टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले गतहप्ता साउदी युवराज मोहम्मद बिन सलमानसँग घटनाका सम्बन्धमा कुराकानी गरेका थिए ।

त्यसक्रममा युवराज सलमानले हत्याकाण्डको जाँचमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *