Sajhamanch Archive

विप्लव भारतमा बस्ने, नेपालमा पार्टी चलाउने ! हतियार किन्न करोडौं चन्दा संकलन

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । आन्तरिक सुरक्षामा सबैभन्दा बढी चुनौतीका रुपमा लिइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिर ८ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

देशभरबाट कार्यकर्ता काठमाडौं उतार्ने रणनीति बनाएको नेकपाको कार्यक्रममा पार्टीका महासचिव ‘विप्लव’ उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने चासो व्याप्त छ । प्रहरीको ‘हिट लिस्ट’ मा रहेका विप्लवमाथि निर्वाचनको समयमा विष्फोट गरेको आरोप छ । उनलाई प्रहरीले खोजीको सूचीमा राखेको छ ।

भोजपुर अदालतले उनको नाममा वारेन्ट जारी गरेपछि विप्लव खोजीको सूचीमा परेका हुन् । विप्लवलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतले गत पुस ९ गते ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसुरमा पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । त्यसयता विप्लव कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदी प्रहरीले विप्लवलाई खोजिरहेको बताउँछन् । नेकपाका नेता–कार्यकर्ताविरुद्ध विभिन्न जिल्लामा मुद्दा छन् । गत साउन २२ मा ७ करोड चन्दा संकलनको आरोपमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका थिए । उनी हाल रिहा भइसकेका छन् । प्रहरी प्रवक्ता सुवेदीले भने, ‘‘कानुनविपरीत गतिविधि गर्ने जोकोही भए पनि प्रहरीले कानुनको दायरामा ल्याउँछ, त्यसैअनुरुप नेकपाका नेता–कार्यकर्ता प्रहरी निगरानीमा छन् ।’’

गएको असोजसम्ममा देशभरबाट विभिन्न आरोपमा विप्लव र सिके राउतका १२५ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका नेकपाका नेता–कार्यकर्ता पछिल्लो समय छुट्ने क्रम पनि जारी छ  ।

भारतमा बसेर पार्टी चलाउँछन् विप्लव !
संविधान खारेजीको मागसहित सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका नेता विप्लव पछिल्लो समय भारतमा बस्ने गरेको निष्कर्ष सुरक्षा संयन्त्रको छ । उच्च सुरक्षा स्रोतले भन्यो, ‘‘उनी (विप्लव) भारतमै बसेर नेपालमा पार्टी चलाउँछन् । तर प्रहरी सक्रियताले उनले आफ्ना कानुन विपरीतका गतिविधिलाई गति दिन सकेका छैनन् ।’’
तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको युद्धको समयमा पनि शीर्ष नेताहरु भारतमै गोप्य रुपमा बस्दै आएका थिए । नेपालमा रहँदा सूचना प्रविधिका कारण सुरक्षा निकायले विप्लवका सबै गतिविधिमा निगरानी राख्न सक्ने भएकाले उनी भारत गएका हुन् ।

उच्च सुरक्षा स्रोत भन्छ, ‘‘विप्लवको अधिकांश बसाइ भारतमा हुने गरेको भएपनि कपितय पार्टीका गोप्य कार्यक्रम, बैठक, प्रशिक्षणका लागि उनी नेपाल आएको देखिन्छ ।’’
विप्लवको योजनामा नेताहरु धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ओमप्रकाश पुन, सन्तोष बूढामगर लगायतका नेताहरु नेपालमा संगठन विस्तारमा सक्रिय छन् ।
पछिल्लो समय विप्लवबाहेकका नेताहरु सार्वजनिक रुपमा देखा पर्दै आएका छन् । सरकारले वार्ताका लागि आह्वान गरेपछि अन्य नेताहरु देखिन थालेका हुन् ।

विप्लवका अधिकांश नेताहरुले यसअघि प्रयोग गर्दै आएका मोबाइल नम्बरहरु प्रयोग गर्न छाडेका छन् । नेपाल प्रहरीले देशभर ‘सर्कुलर’ जारी गर्दै विप्लवलाई जहाँ देख्यो, त्यही समात्न आदेश जारी गरेको छ । तर, सुरक्षा संयन्त्रले विभिन्न स्थानमा अज्ञात समूहका नामबाट भएका आपराधिक घटनामा पनि विप्लव समूहको संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

हतियार किन्न करोडौं चन्दा संकलन
प्रहरीले ७ करोड चन्दा संकलन गरेको आरोपमा नेकपाका प्रवक्ता प्रकाण्डलाई पक्राउ गरेपनि उनी सर्वोच्चको आदेशमा रिहा भएका थिए । प्रहरीले भने नेकपाले देशभरी गोप्य रुपमा चन्दा आतंक मच्चाएको निष्कर्ष निकालेको थियो ।

प्रहरी उच्च स्रोत भन्छ, ‘‘हतियार किन्न भन्दै उनीहरुले करोडौं चन्दा उठाएको गोप्य सूचना पाएका छौं तर उनीहरुको त्यो मिसन सहज भने छैन ।’’ नेकपासँग केही मात्रामा पुराना हतियार रहेको पनि सुरक्षा संयन्त्रको निष्कर्ष छ ।

स्रोत भन्छ, ‘‘खुला सीमानाका कारण भारतबाट विष्फोटक पदार्थ भित्र्याउन त्यति गाह्रो छैन । त्यही विष्फोटक पदार्थबाट विप्लव समूहले विभिन्न स्थानमा निर्वाचनको समयमा विष्फोट गराउँदै आएको थियो ।’’

विप्लवसँग हतियार भएको निष्कर्ष सुरक्षा संयन्त्रको भएपनि मात्राको जानकारी भने छैन  । मुलुकका ४ वटै सुरक्षा निकायले आन्तरिक सुरक्षामा विप्लव नै सबैभन्दा ठूलो चुनौती भएको रिपोर्ट पटक–पटक सरकारलाई बुझाइसकेका छन् ।

प्रहरीको विशेष अनुसन्धान टोलीले विप्लव नेतृत्वको पार्टीले मध्यपश्चिमका रुकुम, रोल्पा, जाजरकोट, सल्यान, प्युठान र पूर्वको इलामका गोप्य स्थानमा गतिविधि गरिरहेको र तालिमको तयारी भइरहेको निष्कर्ष निकालेको छ ।

एक उच्च प्रहरी अधिकारीले भने, ‘‘बरामद भएका कतिपय गोप्य दस्तावेजमा सैन्य अभ्यासका लागि भएका रणनीतिक निर्णय, चन्दा माग्दा खुलाइएको प्रयोजन र राज्यविरुद्ध भइरहेको ठूलो तयारीको प्रमाण भेटिएका छन् ।’’ अदालतले पक्राउ परेका नेता कार्यकर्तालाई छाड्न आदेश दिएकोमा प्रहरी अधिकारी सन्तुष्ट देखिँदैनन् ।

वार्ता गर्न तयार छौं : सरकारी वार्ता टोली
सरकारले विभिन्न असन्तुष्ट पक्षसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा गएको भदौ ८ गते वार्ता समिति बनाएको थियो । समितिले भदौ २५ गते सबै असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । वार्ता टोलीका संयोजक पाण्डे भन्छन्, ‘‘हामीले वार्ता आह्वान गरेपछि विभिन्न समूहहरु सम्पर्कमा आएका छन् । उनीहरु सकारात्मक छन् ।’’

पाण्डेका अनुसार विप्लव नेतृत्वको नेकपाका केही नेताहरुसँग गोप्य स्थानमा भेट पनि भएको छ । उनीहरु वार्ताका लागि सकारात्मक छन् । तर विप्लवसँगै भने सम्पर्क हुन नसकेको पाण्डेले बताए ।  ‘‘विप्लव समूह राजनीतिक समूह नै हो तर केही गतिविधि अतिवादी देखिन्छन् । वार्ता र संवादका लागि बाटो खुला छ,’’ पाण्डे भन्छन् ।

पाण्डेले सरकार वार्ताका लागि लचक भएकै कारण पक्राउ परेका विप्लवका नेता कार्यकर्ता रिहाइ भइरहेको बताए । सरकारी टोलीले वार्ताको पहल भइरहेको दाबी गरेपनि नेकपाबाट औपचारिक रुपमा त्यसको जवाफ भने आएको छैन ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *