Sajhamanch Archive

मातृ भाग्यरेखा साकोस सकारात्मक फड्को मार्दै

Published: in सहकारी by .

बिर्तामोड । ‘हाम्रो सहकारी, राम्रो सहकारी’ को नारालाई सार्थक बनाउँदै बिर्तामोडमा रहेको मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले वित्तीय क्षमता र सामाजिक क्रियाशीलतामा सकारात्मक फड्को मारेको छ ।

आज यहाँ आयोजित संस्थाको सातौं वार्षिक साधारणसभामा अध्यक्ष खड्गप्रसाद दाहालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा स्थापनाकालको त्यो क्षण र आजको यो क्षण तुलना गर्दा गौरव लाग्ने उल्लेख छ ।

संस्थाले आर्थिक वर्ष २०७३÷७४ को तुलनामा गत आर्थिक वर्षमा शेयर पूँजी ३३ लाख ६२ हजारले वृद्धि गरी एक करोड ६८ लाख पुर्याएको छ । चालू आर्थिक वर्षमा दुई करोड १८ लाख रुपैयाँको शेयर पूँजी बनाउने संस्थाको लक्ष्य रहेको प्रतिवेदनमा जनाइएको छ ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले निक्षेप, कर्जा लगानी एवम् जगेडा कोषमा निरन्तर वृद्धि गरिँदै लगेकोले संस्थाले गत आवमा ९० लाख २२ हजार रुपैयाँ मुनाफा गरेको शेयर सदस्यहरुमाझ घोषणा गरे ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभा उद्घाटन समारोहमा गत आर्थिक वर्षका उत्कृष्ट कारोबारीहरु नगदसहित सम्मानित गरिए ।

संस्थाले लखी राजवंशी र नविनकुमारी राजवंशीलाई उत्कृष्ट बचत कारोबारीको सम्मान गरेको छ भने उत्कृष्ट कर्जा कारोबारीका रुपमा जन्मजय साहा र पवित्रा भट्टराई सम्मानित भए ।

यसैगरी गत वर्ष एसईई दिई उत्कृष्ट अंक प्राप्त गर्ने संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु दुईजना नगद ५ हजार रुपैयाँसहित पुरस्कृत भएका छन् । सम्मानित उत्कृष्ट विद्यार्थीहरुमा श्रीशा प्रसाईं र आदेश नेपाल हुन् ।

संस्थाले हरेक वर्ष साधारणसभामा एक कर्मचारीलाई उत्कृष्ट छनोट गरी पुरस्कृत गर्ने शिलशिलामा यो पटक व्यवस्थापक विनोदकुमार गणेश सम्मानित भएका छन् ।

सबै सम्मान तथा पुरस्कारहरु जिल्ला संघका अध्यक्ष ढकालसहितका विशिष्ट व्यक्तित्वहरु एवम् संस्थाका पदाधिकारीहरुले प्रदान गरेका थिए ।

साधारणसभाको उद्घाटन समारोहमा जिल्ला संघका अध्यक्ष ढकाल, बिर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहाल, बिर्तामोड नगरपालिका वडा नं. १ का अध्यक्ष अग्नि पाण्डे, वडा सदस्य यमुना आचार्य, साना मझौला साकोसका सचिव चन्द्रप्रसाद भट्टराईले आफ्ना धारणा राखेका थिए ।

संस्थाका सल्लाहकार प्रेम दाहालले सहकारीको स्थापना गर्दा भोग्नुपरेका तीतामीठा अनुभव सुनाएका थिए भने कोषाध्यक्ष सोमनाथ निरौलाले आमन्त्रित सहभागीलाई शब्दले स्वागत गरेका थिए ।

साधारणसभा कार्यक्रमको सञ्चालन नैनकला भट्टराईले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *